सुर्खेत– कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको संख्या तीन हजार ६ सय नाघेको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको विवरणमा प्रदेशभर ३ हजार ६ सय ८६ जनामा मानसिक समस्या रहेको उल्लेख छ।
रुकुमपश्चिममा सबैभन्दा बढी अर्थात् १ हजार ३ सय ५३ जनामा मानसिक समस्या छ। सुर्खेतमा १ हजार २ सय ४१, सल्यानमा ५८९ जनामा मानसिक समस्या छ। यसैगरी हुम्लामा १४९, कालीकोटमा १३४, दैलेखमा १२२, जाजरकोटमा ८४, मुगुमा ११ र जुम्लामा ३ जनामा मानसिक समस्या रहेको निर्देशनालयको विवरणमा उल्लेख छ।
डोल्पामा भने मानसिक समस्या भएका बिरामी फेला नरहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए।
वयस्कका साथै बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या रहेको पाइएको छ। कर्णालीको कुल जनसंख्याअनुसार १६ लाख ८८ हजारमध्ये ११.७ प्रतिशत जनसंख्या मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन्। यस्तै चार प्रतिशत बालबालिका मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिएको पाइएको कँडेलले बताए।
सबैभन्दा बढी १ हजार ८११ जनामा एन्जाइटीको समस्या छ। त्यसपछि ६३५ जनामा डिप्रेसनको समस्या रहेको विवरणमा उल्लेख छ। छारेरोगका ४११ जना, मापसेबाट स्वास्थ्य समस्यामा परेका २३७ र गम्भीर मानसिक रोगका १९९ बिरामी छन्।
यसैगरी निर्देशनालयले विकृत तनाव, अन्य मानसिक समस्या, अन्य मादक पदार्थबाट स्वास्थ्य समस्या, द्विध्रुवीय मानसिक समस्या, बालबालिका तथा किशोरकिशोरीमा भावनात्मक तथा व्यावहारिक समस्या, आत्महत्या प्रयास र बिर्सने रोगका कारण मानसिक समस्यामा परेका व्यक्तिको विवरण संकलन गरेको छ।
कर्णाली प्रदेश अस्पतालका मनोचिकित्सक डा. सुशील समदर्शीले कर्णालीका नागरिकमा मानसिक समस्या दिनप्रतिदिन बढिरहेको बताए। डिप्रेसनलगायत विभिन्न कारणले वयस्कका साथै बालबालिकामा मानसिक स्वास्थ्यको समस्या देखिएको हो। उनका अनुसार प्रदेशका मानसिक समस्या भएकामध्ये १५ देखि ६० वर्षसम्मका व्यक्ति धेरै छन्।
मानसिक स्वास्थ्यमा स्वास्थ्य बजेटको एक प्रतिशत पनि खर्च गर्न नसकिएको समदर्शी बताउँछन्। मानसिक रोगको उपचारका लागि ग्रामीण भेगमा स्वास्थ्य संस्था उपलब्ध छैनन्। केही गैरसरकारी संस्थाहरुको पहलमा सीमित स्वास्थ्य संस्थामा मात्र उपचार सेवा सञ्चालनमा आएका छन्।
समुदायमा पत्ता लाग्ने मानसिक स्वास्थ्य समस्यामध्ये २८ प्रतिशत डिप्रेसन र ४० प्रतिशत एन्जाइटीसँग सम्बन्धित रहेको डा. समदर्शीले बताए। उनका अनुसार नेपालमा ५.२ प्रतिशत १३ देखि १७ वर्षका किशोरकिशारी र १० प्रतिशत १८ वर्षमाथिका वयस्कमा मानसिक स्वास्थ्य समस्या छ।
कर्णालीको कुल जनसंख्याअनुसार १६ लाख ८८ हजारमध्ये वयस्क ११.७ प्रतिशत जनसंख्या मानसिक स्वास्थ्यको समस्याबाट ग्रसित छन्। यस्तै चार प्रतिशत बालबालिका पनि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको उनले बताए।
घरघरमा मानसिक स्वास्थ्यको समस्या भोगेका व्यक्ति रहेको हुँदा यसको उपचार सेवा सहरकेन्द्रित मात्रै नभएर जिल्ला तथा पालिकासम्म आवश्यक रहेको उनको भनाइ छ।
मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूले सामाजिक भेदभाव तथा लाञ्छना र अन्धविश्वास बढी भोगेका छन्। डा. समदर्शीले, ‘जनचेतनाको अभावले अझै पनि झारफुक र धामीझाँक्रीको भरमा उपचार पर्नुपर्ने अवस्था छ।’
कलिलो उमेरका बालबालिका पनि मानसिक स्वास्थ्यको समस्याबाट पीडित हुन थालेका छन्। त्यसका लागि राज्यलगायत सबै पक्ष जिम्मेवार बन्नुपर्ने, उच्च मनोबलका साथ मनोपरामर्श र उपचार गर्नुपर्ने सुझाव डा. समदर्शीको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२० जारी गरेको अनुसन्धान प्रतिवेदनअनुसार १३ देखि १७ वर्षको उमेर समूहका व्यक्तिमा ५.२ प्रतिशत र सोभन्दा माथि उमेर समूहका व्यक्तिहरूको जनसंख्याको १० प्रतिशतमा मानसिक रोगका बिरामी छन्। नेपालमा ९० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू उपचार सेवाबाट वञ्चित छन्। बर्सेनि आत्महत्याका घटना बढ्नुको मुख्य कारण मानसिक रोग रहेको परिषद्को प्रतिवेदनमा उल्लेख छ।