कास्कीमा अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद

हिमाल प्रेस १७ साउन २०८१ २०:१९
54
SHARES
कास्कीमा अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद

पोखरा- कास्कीमा अहिलेसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद भएको कास्की प्रहरीले जनाएको छ। हाल प्रचलित बजार मूल्य झण्डै ५० लाख रहेको आठ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको हो।

पोखराको न्यूरोडस्थित होटल दीपदर्शनमा लुकाइछिपाइ राखेको अवस्थामा १६ साउनमा बरामद गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। उक्त अभियोगमा होटल सञ्चालक ३७ वर्षीया इन्दुदेवी श्रेष्ठ र म्यानेजर २५ वर्षीय मिलन पौडेल पक्राउ परेका छन्।

श्रेष्ठ तनहुँको शुक्लागण्डकी-८ की हुन् भने पौडेल स्याङ्जा आँधीखोला गाउँपालिकाका हुन्। उनीहरूलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

होटलमा अवैधरूपमा लागुऔषध कारोबार भएको गोप्य सूचना आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो होटलबाट लागुऔषध कुल ४३ हजार २ सय ट्याबलेट र २ थान मोबाइल बरामद गरेको हो। उक्त होटलको भवनमा केही समयदेखि एक मेडिकल सञ्चालित थियो। यसअघि पोखरा १७, बिरौटामा रहेको उक्त मेडिकल दर्ता नगरी सञ्चालन भएको पाइएको छ।

बरामद गरिएको लागुऔषधमा हाइड्रोक्लोराइड क्याप्सुल १३ हजार ६ सय ट्याब्लेट, टेपेन्डोल ट्याब्लेट ५० एमजीको १६ सय ट्याब्लेट, टेपेन्डोल ट्याब्लेट-५० एमजी टेन्डा-५० एमजीको २६ सय वटा, टेपेन्डोल ट्याब्लेट-७५ एमजी टेन्डा-७५ एमजीको ४ हजार ट्याब्लेट, टेपोन्डोल हाइड्रोक्लोराइड एक्सटेन्ड रिलिज ट्याब्लेट सय एमजीको ११ हजार ६ सय ट्याब्लेट छन्।

साथै, ट्यापेन्डोल-७५ एमजीको ४ हजार ट्याब्लेट र ट्यापेन्डोल सय एमजीको २१ हजार ४ सय वटा ट्याब्लेट बरामद गरेको हो। सबै प्रकारका लागुऔषध गरेर प्रहरीले ४३ हजार २ सय वटा ट्याब्लेट पनि बरामद गरिएको हो।

प्रकाशित: १७ साउन २०८१ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =