गुरुदेव कामत : उपचार अभावमा अस्ताएका शास्त्रीय संगीतका ‘हस्ताक्षर’

सुस्मिता बजगाईं १७ साउन २०८१ २१:३२
76
SHARES
गुरुदेव कामत : उपचार अभावमा अस्ताएका शास्त्रीय संगीतका ‘हस्ताक्षर’

काठमाडौँ- शास्त्रीय संगीतका ‘हस्ताक्षर’ गुरुदेव कामत आफ्नो जन्म दिनकै दिन ६९ वर्षको उमेरमा यो संसारबाट बिदा भएका छन्। दुवै मिर्गौलाको समस्याबाट पीडित गुरुदेवले सिरहाको पोखरभिन्डास्थित पुर्खौली घरमा अन्तिम सास फेरे।

गुरुदेवको जन्म २०१२ साउन १७ गते सिरहाको पोखरभिन्डामा भएको थियो। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ पोखरभिन्डास्थित घरमा बिहीबार बिहान करिब साढे ७ बजे उनको निधन भयो।

गायक, संगीतकार तथा शास्त्रीय संगीतका गुरु गुरुदेव केही दिनयता मिर्गाैलाको समस्याबाट पीडित थिए। आर्थिक समस्याबाट जुझिहेका उनी काठमाडाैँमा बसेर उपचार गराउन नसकेपछि २९ असारमा जन्मथलाे पाेखरभिन्डा फर्किएका थिए।

डायलाइसिस गराइरहेका गुरुदेवलाई चिकित्सकहरुले मिर्गाैला प्रत्याराेपण गर्नुपर्ने बताएका थिए। त्यसका लागि गुरुदेवसँग पर्याप्त पैसा थिएन। केही साथी‍, आफन्त, शुभचिन्तकहरुले सहयाेग गरे। तर, प्रत्याराेपणका लागि अपुग थियाे।

गीतस‌गीतका माध्यमबाट मुलुकका लागि जीवन समर्पण गरेका व्यक्तिले उपचार अभावमा ज्यान गुमाउनु दुखद रहेकाे रङ्गमञ्चका कलाकार  अवधेश कामत बताउँछन्। उनी भन्छन्, ‘सँधै गीतसंगीतका माध्यमबाट उहाँले देशकाे सेवा गर्नुभयाे। विदेशमा देशकाे पहिचान बनाउनुभयाे। तर, केही पैसाकाे लागि उपचार पाउनुसक्नु भएन। याे दुर्भाग्यपूर्रण हाे।’

साहित्यकार राेशन जनकपुरीले पनि गुरुदेवकाे उपचारका लागि राज्यले ध्यान दिन नसक्नु दुर्भाग्यपूर्ण रहेकाे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उपचार मिर्गौला प्रत्यारोपणमात्र थियो। तर, यसका लागि ठूलै खर्च चाहिन्थ्यो, जो उनको हैसियतभन्दा धेरै माथि थियो। यो दृष्टिकोणबाट राज्य र संस्थागत भूमिका ठीक रहेन उनका लागि। यो कुराको मूल्याङ्कन र विमर्श अवश्य हुनेछ।’

२०५० सालमा पहिलाेपटक गीत ल्याएका गुरुदेवले नेपाली, मैथिली, भाेजपुरी र हिन्दीगरी तीन सयभन्दा बढी गीतमा स्वर दिएका छन्। दर्जनबढी गीतमा उनले संगीत भरेका छन्।

उनले स्वर दिएका ‘उठू जनकपुर भेलै भाेर’, ‘हम्मर सिन्दुरक धुल उडा क”, ‘बितबित पर लक्ष्मण रेखा’ चर्चित गीतहरू हुन्। त्यस्तै ‘हजुरकाे तनमा’, ‘तिमी नै भन’, ‘प्रेमकाे नशा’ गुरुदेवका लाेकप्रिय गीतहरू हुन्।

राष्ट्रपतिबाट ‘प्रवल जनसेवाश्री’ पुरस्कार पाएका मैथिली गीतसंगीतमा गुरुदेव ‘मिथिलारत्न’, ‘मधेशरत्न’ बाट पनि सम्मानित भएका थिए।

गुरुकुल संगीत पाठशाला सञ्चालन गरेर हजारौँ संगीतका हस्ती उत्पादन गरेका उनी समकालीन गीतसंगीत क्षेत्रका स्रष्टामध्ये धेरैका गुरु हुन्।

चर्चित गीतकार तथा गजलकार कृष्णहरि बराल, गायक प्रमोद खरेल, सन्तोष सानु, बाबुल गिरी, गायिका प्रविशा अधिकारी, मिलन अमात्य, अञ्जु पन्त, मिलन नेवारलगायत थुप्रै गायक एवं संगीतकारले उनकै पाठशालाबाट संगीत सिकेका हुन्।

गुरुदेव कामतबिना शास्त्रीय संगीत अपुरो रहने संगीतकारहरू बताउँछन्। नेपालसहित भारतमा समेत चर्चा कमाएका कामतको योगदान स्मरणीय रहने उनका शिष्यहरूको विश्वास छ।

अहिलेका पुस्ताको नजरमा कामत

गायक तथा संगीतकार बाबुल गिरी कामतलाई सर्वगुण सम्पन्न साधकका रूपमा सझिन्छन्। ‘कतिपय गुरुमा सिकाउने तरिका राम्रो हुन्छ आवाज हुन्न। उहाँको आवाज पनि बुलन्द र सिकाउने तरिका फरक थियो,’ गिरीले भने, ‘मैले जति पनि गुरुसँग संगत गरेको छु उहाँहरूमध्ये कामत गुरु विशेष लाग्थ्यो।’

गिरीका अनुसार सिकाइ मात्र नभएर गुरुदेवको गायन पनि अब्बल थियो। ‘हामीलाई मायालु स्वभावमा संगीत सिकाउनुहुन्थ्यो। अरूको गीत गाउँदा विचार गर्नुपर्छ भन्दै सम्झाउनुहुन्थ्यो,’ गिरीले भने।

गुरुदेव कामतलाई संगीत जगतले शास्त्रीय संगीतकारका रूपमा चिन्छन्। गिरी भन्छन्, ‘त्यसैले नयाँ पुस्ता पनि उहाँको पाठशालामा संगीत सिक्न धाउँथे। मैले सिक्दा करिब ३० जना थियौँ। कोरोनाअघि उहाँसँग संगीत सिक्न आउनेको भीड लाग्थ्यो।’

गिरीको कुरामा गायिका तथा संगीतकार बबिना भट्टराईको पनि सहमति छ। उनी भन्छिन् ‘गुरुदेव कामत शास्त्रीय संगीत, ठुङरी गायन, आधुनिक सुगम संगीत, फिल्मी गीतलगायत सबैमा गाउन पोख्त हुनुहुन्थ्यो। धेरै गुरुहरू सिकाइमा मात्र पोख्त हुनुहुन्छ तर उहाँ सिकाइमा मात्र नभएर गाउनमा पनि उत्तिकै पोख्त हुनुहुन्थ्यो।’

गायिका भट्टराईले गुरुदेवसँग आठ वर्षसम्म संगीत सिकेको बताउँछिन्। ‘उहाँले सहज र सरल तरिकाले संगीत सिकाउनुहुन्थ्यो। उहाँको स्वभाबबारे अरूबाट थाहा पाएर म सिक्न गएकी थिएँ,’ उनले भनिन्।

गुरुदेव कामतको इमानदार साधारण र एक मेहनती स्वभाव रहेको गायिका भट्टराई बताउँछिन्। ‘उहाँ मेहनती, इमानदार र साधारण स्वभावको हुनुहुन्थ्यो। नेपाली संगीत क्षेत्रमा केही छलकपट नगरी साधनाले मात्र जीवन चलाइरहनुभएको थियो,’ उनले भनिन्।

गुरुदेव काठमाडौँमा कोठा भाडामा बस्थे। आफ्नै तरिकाले काम गर्ने र चर्चामा आउन नरुचाउने उनी संगीत साधनामा निरन्तर लागिरहन्थे। ‘उहाँ विद्यार्थीलाई परिवारजस्तो मान्नुहुन्थ्यो। छोराछोरी सम्झिनुहुन्थ्यो। त्यसैले विद्यार्थी पनि उहाँसँग छिट्टै घुलमिल हुन्थे,’ भट्टराईले भनिन्।

भट्टराई देशको गहनाले उपचार नपाएरै मर्नु दुःखद भएको बताउँछिन्। ‘उहाँ खर्च अभावले काठमाडौँमा बस्न नसकेर गाउँ फर्किनुभएको थियो। हामी शिष्य मिलेर राज्यलाई निकै पहल पनि गर्‍यौँ तर सहयोग पाइएन,’ उनले दुःखेसो पोखिन्। गायक कृष्ण भट्टराई पनि गुरुदेव कामतलाई शास्त्रीय संगीतमा नेपालको सर्वोत्कृष्ट गुरु मान्छन्।

यसरी सुरु भएको थियो कामतको संगीतयात्रा

गुरुदेव कामतको जन्म २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा भएको थियो। उनका पितापुर्खा संगीत साधनामा थिए। उनका दाइ जगदेव कामत पनि संगीतमै लागेका थिए। उनले सुरुमा दाइबाट संगीतका केही राग सिकेका थिए।

सानैदेखि संगीतमा रुचि भएका कामत आठ वर्षकै उमेरमा मधेशको एउटा गाउँमा पहिलोपटक स्टेज कार्यक्रममा सहभागी भएका थिए। उनको गीत सुनेर मोहित भएका एकजना मुसलमानको हौसलामा उनी ११ वर्षको उमेरमा भागेर कलकत्ता गए। त्यहाँ उनले पण्डित सञ्जय चक्रवर्तीसँग तीन वर्ष संगीत सिक्दै काम गरे। उनले आफ्नो बाल्यकाल भारतमै बिताए। पटनामा गणेशलाल ठाकुरसँग करिब १५ वर्ष संगीत सिके।

गुरुदेव पहिले मैथिली, हिन्दी गीत बढी गाउँथे। काठमाडौँ प्रवेश गरेपछि उनले नेपाली गीत गाउन थालेका थिए। उनी २०४६ सालमा उनका साथी संगीतकार भरत लामाको साथमा पहिलोपटक काठमाडौँ आएका थिए। भरतमार्फत पण्डित होमनाथसँग उनको भेट भयो र पण्डित होमनाथले नै उनलाई संगीतकार गोपाल योञ्जनसँग भेट गराएका थिए।

उनको गीत सुनेर योञ्जनले उनलाई आफ्नै गीत तत्काल गाउन लगाए। जुन उनको पहिलो रेकर्डेड गीत बन्यो, ‘सत्य हो संसार दुःख छ’। त्यसपछि उनले गोपाल योञ्जनका थुप्रै भजन, आधुनिक गीत गाए। गुरुदेव कामत २०४८ सालमा शास्त्रीय संगीतमा प्रथम भए। उनले रेडियो नेपालबाट आधुनिक संगीतमा पुरस्कार जितेका छन्।

त्यसपछि गुरुदेवले काठमाडौँमा स्टेज कार्यक्रम गर्न र संगीत सिकाउन थाले। साथै उनले भजनमात्र नभएर आधुनिक, लोक गीत पनि गाउँथे। गुरुदेव कामतले कलानिधि इन्दिरा विद्यालयमा दुई वर्ष र २०५१ देखि २०६१ सालसम्म डोरेमी संगीत पाठशालामा संगीत सिकाए। त्यसपछि उनले चारखाल डिल्लीबजारमा आफ्नै गुरुकुल संगीत पाठशाला खोलेका थिए। उपत्यकामा रहँदा उनी प्रायः एकल साँझतिर व्यस्त हुन्थे।

निरन्तर आफ्नै पाठशालामार्फ विद्यार्थीलाई संगीत सिकाएका कामत ३५ वर्ष काठमाडौँ बसेर कोरोना महामारीको समयमा गाउँ फर्केका थिए। दुर्भाग्यवश २०८० सालमा उनको दुवै मिर्गाैला फेल भयो।

केही समय काठमाडौँमा उपचार गराएका उनी आर्थिक संकट भएपछि सपरिवार गाउँ फर्केका थिए। केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि गुरुदेवले काठमाडौँमा उपचार गराएका थिए। त्यसपछि उनी आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहा फर्किएका थिए। उनले लहानस्थित अस्पतालमा डायलासिस गराइरहेका थिए।

गुरुदेवले २०७० तिर तबला छाप चिनसहित नयाँ संघीयता जनधारणा पार्टी खोले। चुनाव लडे तर पराजित भए। गुरुदेव कामतले एक अन्तर्वार्तामा भनेका छन्, ‘संगीत एउटा पूजा हो। तपस्या हो। मानव जातिको अभिन्न अंग हो। संस्कार हो। जीवनको सुरुवात पनि संगीतबाट हुन्छ र अन्त्य पनि संगीतबाटै। त्यसैले संगीत कहिल्यै नरित्तिने र नसकिने एउटा अमूल्य र अमर रस हो।’

प्रकाशित: १७ साउन २०८१ २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =