आफ्नैबाट आलोचित प्रचण्ड

किरण पौडेल १७ साउन २०८१ १६:०९
224
SHARES
आफ्नैबाट आलोचित प्रचण्ड पुष्पकमल दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पार्टीभित्र आलोचना हुन थालेको छ। हालै सम्पन्न पदाधिकारी बैठकमा सत्ताका लागि मात्रै राजनीति गरेको र पार्टी संगठनलाई लथालिंग पारेको भन्दै अध्यक्ष प्रचण्डको आलोचना भएको नेताहरूले जानकारी दिएका हुन्।

पार्टीले एजेन्डा छाडेको, सत्तामुखी बनेको, आफ्नै सरकारका कामको जस लिन नसकेको जस्ता विषयमा प्रचण्डको आलोचना भएको थियो। कतिपय नेताले प्रचण्डलाई बढी विश्वास गर्दा पार्टी सकिएको बताएका थिए। पदाधिकारी बैठकमा नेताहरूले पार्टीको विगतदेखि वर्तमानसम्म समीक्षा गरेका थिए। केही नेताले भने माओवादी सत्तामा गएका कारण जनतासँग सम्बन्ध साधुरिएको बताएका थिए।

‘सघन छलफल चलेर बैठक सकियो। सबैले आआफ्नो धारणा राख्ने काम भयो,’ उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटा भन्छन्। नेताहरूको आलोचनापछि प्रचण्ड नरम भएर प्रस्तुत भएका थिए। प्रचण्डले वर्गीय एजेन्डा उठाउने, प्रतिपक्षी दललाई एक ठाउँमा ल्याउने, विगतमा आफ्ना सरकारका कामको प्रचार गर्ने प्रतिबद्धता जनाएको नेताहरू बताउँछन्।

‘पदाधिकारीज्यूहरूले प्रचण्डको नाम खुलाउनुभएन तर सुध्रिनुपर्ने बताउनुभयो,’ माओवादीका एक सचिव भन्छन्, ‘सत्तामा मात्र बस्दा कुनै दिन हालत हुन्छ भन्ने पहिले नबुझेको बारेमा हामीले अध्यक्षज्यूलाई जानकारी दियौँ।’

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डलाई प्रश्न गर्दै अब अघि बढ्ने प्रस्ट खाका बनाउन माग गरेका थिए। नेतृत्वको जिम्मेवारी दिएमा आफू चलाउन तयार रहेको पनि श्रेष्ठले बताएको एक नेताले जानकारी दिए।

बैठकमा माओवादी सचिव राम कार्कीले जनतासँग जोडिने कार्यक्रम सशक्त ढंगले उठाउनुपर्ने बताएका थिए। ‘हामीले अहिलेसम्म भएका कामको जस-अपजस नेतृत्वले नै पाउनुपर्ने बताएका थियौँ,’ ती नेता भन्छन्, ‘हाम्रो गल्ती एजेन्डा छाड्नु र सत्तामा रमाइरहनु हो।’

यसअघिका बैठकमा भन्दा दोस्रो स्तरका नेताहरू कडा सुनिएका थिए। अन्तिम दिन प्रचण्डले आत्मालोचित हुँदै जबाफ दिएका थिए। उनले विगतमा आफूहरूबाट गल्ती भएको र अब जनतामा जानुपर्ने बताएका थिए।

उपमहासचिव हरिबोल गजुरेल पाँच दिन बैठक बस्दा पनि पार्टीको सघन छलफल निष्कर्षमा नपुगेको बताउँछन्। बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा र सचिव देवेन्द्र पौडेल उपस्थित थिएनन्।

प्रचण्ड सरकारमा गए पनि पार्टीको जिम्मेवारी अरूलाई नदिँदा समस्या भएको सांसद सुदन किराती बताउँछन्। उनी भन्छन्, ‘हामीले पार्टीलाई चलायमान राख्नुपर्थ्यो। हाम्रा एजेन्डा बचाउन सकेनौँ।’

अहिले माओवादी प्रतिपक्षमा छ। प्रतिपक्षी भूमिका र पार्टी गतिविधि बढाउने सघन छलफलमा माओवादी जुटेको छ। शुक्रबारबाट माओवादीले पदाधिकारी बैठक बोलाएको थियो। सबै पदाधिकारीलाई आफ्ना धारणा सुनाउन अनुरोध गर्दै प्रचण्डले पाँच दिन पदाधिकारी बैठक राखेका थिए। माओवादीमा यसअघि बैठकमा बोल्न समय निर्धारण गरेको हुन्थ्यो। यसपटक सबै पदाधिकारीलाई बोल्न समय तोकिएको थिएन। पदाधिकारी बैठक शुक्रबारदेखि मंगलबारसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो।

बदलिने संकेत

नेताहरूका अनुसार कुनै बेला प्रचण्ड आलोचना सुन्ने चाहँदैनथे। नेताहरू भन्थे, ‘आलोचना गर्नेहरू माओवादीमा टिक्दैन।’ यसपटक बैठकमा प्रचण्डले आलोचना सुने। उनले नेताहरूको कुरालाई मनन गर्ने र कार्यक्रम बनाएर अघि बढ्ने आत्मविश्वास दिलाएका छन्। अब पार्टीका कार्यक्रम लिएर देशदौडाहामा जाने बताएका छन्।

‘हाम्रो जनतासँगको कडी टुटेको छ, म देशैभरि एक पटक जनतासँग एकाकार हुन्, सुखदुःखको कुरा सुन्न जान्छु’, बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने।

प्रचण्डले साउन २५ मा स्थायी समिति बैठक समेत बोलाएका छन्। त्यसलगत्तै केन्द्रीय समिति पनि तोक्ने तयारी छ। यसबाट प्रचण्ड पार्टीमा चलायमान बन्ने खोजेको नेताहरूको बुझाइ छ। पार्टीलाई पुनर्गठित गर्न दोस्रो स्तरका नेताको जोडमा प्रचण्ड दबाबमा परेको उनीहरूको बुझाइ छ।

सत्ता छाड्नुपर्दाको पीडा!

नेताहरूका अनुसार माओवादी अध्यक्ष प्रचण्ड यति बेला अन्योलमा छन्। प्रचण्डले सत्तामा रहँदा प्रधानमन्त्री पद लामो समयसम्म रहने दाबी गरेका थिए। नयाँ गठबन्धन परिवर्तनपछि पनि प्रचण्डले पद बचाउन अनेक प्रयत्न गरे। माओवादीकै नेताले नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका थिए।

प्रचण्डले विश्वासको मत लिने संवैधानिक बाटो राजे। यसबेला माओवादीकै अन्य नेताले समेत प्रचण्डलाई पद छाड्न दबाब दिएका थिए। नेपाली कांग्रेस–नेकपा एमालेको समीकरणपछि प्रचण्ड सत्ताबाट बाहिरिए।

यही कारण सरकार अल्पमतमा परेको १० भित्रै उनले विश्वासको मत लिए। त्यसमा सफल नभएपछि उनी बढी चिन्तित बनेको नेताहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =