खुसी लिएर इलाम छाड्दै शिवमाया

किरण पौडेल १८ साउन २०८१ ७:०२
1.0k
SHARES
खुसी लिएर इलाम छाड्दै शिवमाया

काठमाडौँ- डा.शिवमाया तुम्बाहाङ्फेको यसअघि इलामसँग न्यानो सम्बन्ध थिएन। घुमघाम र कहिलेकाहीँ राजनीतिक कार्यक्रममा बाहेक उनी इलाम पुग्दैन थिइन्। पछिल्लो एक वर्ष उनी इलामको अन्तरंगसँग घुलमिल भइन्।

शिवमायालाई नेकपा एमालेले जिल्ला इन्चार्जको जिम्मेवारी पूरा गर्न इलाम खटाएको थियो। एकबर्से कार्यकाल पूरा गरी उनी इलामबाट बिदाइ हुने तयारीमा छन्। उनको कार्यकाल बिहीबारदेखि सकिँदैछ। अब एमालेले सबै जिल्लामा नयाँ इन्चार्ज तोक्नेछ। इलाममा पनि इन्चार्ज परिवर्तन हुनेछन्। ‘जिम्मेवारी सकिँदैछ। म अन्तिम पटक इलाम पुग्दैछु’, शिवमायाले भनिन्।

एक वर्षको इलाम बसाइमा धेरै कुराको अनुभव बटुलेको उनले बताइन्। उनले इलाममा उपनिर्वाचनको कमान्ड गरिन्। सुवास नेम्वाङको निधनपछि इलाम–२ मा उपनिर्वाचन भएको थियो। एमालेले नेम्वाङकै छोरा सुहाङलाई उपनिर्वाचनमा अघि सारेपछि शिवमायामाथि दबाब बढेको थियो। एमालेले जित्दै आएको क्षेत्रमा पराजित भएमा उनको क्षमतामाथि प्रश्न उठ्थ्यो। चुनावका बेला शिवमायाले सक्रियता देखाइन्। परिणाम पनि उनकै पक्षमा आयो अर्थात् सुहाङ निर्वाचित भए।

इलाममा खटिँदाको मुख्य जिम्मेवारी पूरा गरेकाले निकै खुसी लागेको शिवमाया बताउँछिन्। उनी भन्छिन्, ‘नेतृत्वले दिएको जिम्मेवारी पूरा गरेकी छु। त्यसैले इलाम छाड्नुपर्दा खुसी छु।’

अब शिवमायाको जिम्मेवारी पार्टी कार्यकर्ताभन्दा भिन्न हुनेछ। मन्त्रिपरिषद्ले उनलाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरेको छ। कानुनमन्त्री र उपसभामुखको जिम्मेवारी लिइसकेकी शिवमायाका लागि राजदूत पद नयाँ हो। यसैले आफूमाथि अवसर र चुनौती दुवै रहेको उनले बताइन्।

राजनीतिसँगै कूटनीतिक कुरामा रम्न पाउने आस उनमा छ। उपसभामुख र मन्त्री भइसकेको व्यक्तिलाई कसैले पदलोलुपको आरोप लाउँछन् कि भन्ने भय पनि छ उनलाई। ‘मलाई पहिले लागेको हो, तर अरू साथी पनि देखेपछि नाइँ भनिनँ,’ शिवमायाले भनिन्, ‘पार्टीबाहिर मैले अरू जिम्मेवारी पाउँदिनँ। चुनाव लडिनँ। अब यही त हो नि।’ शिवमाया राजदूतमा सिफारिस भएको पहिलोपल्ट भने होइन।

बाधक बनेका थिए प्रचण्ड

शिवमाया खुलेर कुरा गर्छिन्। राजनीतिदेखि व्यक्तिगत हण्डर/ठक्करका कुरा निर्धक्कसँग सुनाउँछिन्। उनी निकटका एमाले कार्यकर्ता भन्छन्, ‘राजदूत सिफारिस भइसक्दा पनि शिवमाया दिदी खुलेर म बन्छु भन्न सक्नुभएको छैन।’ किनभने शिवमाया यसअघि पनि राजदूतमा सिफारिस भएर नियुक्त हुन पाएकी थिइनन्।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा शिवमायालाई इजरायलका लागि राजदूत सिफारिस गरिएको थियो। नेकपामा पूर्ववत् अवस्था (एमाले र माओवादी) मा फर्कियो। ओली सरकार ढल्यो। शिवमायाको आउन लागेको पद छुट्यो। ‘त्यसबेला मलाई प्रस्ताव आउँदा म राजदूत बन्न तयार थिइनँ,’ शिवमाया भन्छिन्, ‘एक महिना सोचेर तयार भएँ। सरकार ढलेपछि सबै खेल खत्तम भयो।’ शिवमाया प्रचण्डकै कारण राजदूत बन्न नपाएको उनी निकटका नेताहरू बताउँछन्। राजदूतमा प्रचण्डले रोके पनि शिवमायाले अन्य अवसर भने पाउँदै आएकी छन्।

सभामुख बन्न नपाएकी शिवमाया

२०७४ को चुनावमा एमालेबाट उनी समानुपातिक सांसदमा निर्वाचित भइन्। उपसभामुखसम्म बनिन्। कृष्णबहादुर महरा बलात्कार मुद्दामा पदमुक्त भएपछि शिवमाया सभामुख बन्ने लाइनमा थिइन्। प्रचण्डले अग्नि सापकोटालाई अघि बढाएपछि शिवमाया पछि हट्नुपर्‍यो।

‘त्यसबेला मैले लड्नेजति लडेँ। सभामुख नहुँदा मलाई सभा चलाउन भनियो तर टेरिनँ,’ शिवमाया भन्छिन्, ‘पार्टी र पद फरक हो भन्ने देखाएँ। पार्टीले राजीनामा मागे पनि मैले नदिने प्रयत्न गरेँ।’ उनलाई सभामुखको अधिकार प्रयोग नगर्न भनिएको थियो। सभामुख नहुँदा आफूले अधिकार प्रयोग गर्न मिल्ने अडान उनले लिइन्।

ओलीसहित तत्कालीन राष्ट्रपति विद्या भण्डारीले पनि शिवमायाका पक्षमा लबिइङ गरेका थिए। प्रचण्डले माओवादीको कोटा भन्दै सभामुख पद छाडेनन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पदबाट फिर्ता गर्दा पनि शिवमायाले अड्डी कसिरहिन्। सभामुख बन्ने सर्तमा उनले राजीनामा गरिन्।

प्रचण्डले माओवादी नेता खोज्दा शिवमाया अवसरबाट वञ्चित भइन्। प्रचण्डको इच्छा नहुँदा दुई पटक शिवमाया पछि हट्नुपरेको थियो। पहिले राजदूत पछि सभामुख। शिवमाया ओली मन्त्रिपरिषद्‌मा उनी कानुनमन्त्री बनेकी थिइन्।

सुहाङ जिताएर देखाएको बल

एमाले अध्यक्ष केपी शर्मा ओली शिवमायाप्रति सधैँ सकारात्मक रहँदै आएको नेताहरू बताउँछन्। ओलीले सकेसम्म उनलाई जिम्मेवारी दिँदै आएका छन्। शिवमायाले पनि आफूलाई दिएको जिम्मेवारी पूरा गर्दै आएकी छन्। यसको एउटा उदाहरण हो, यसअघिको इलामको जिम्मेवारी।

एक वर्षअघि पार्टीले इलाम इन्चार्ज तोक्दा उनी त्यति खुसी थिइनन्। उनी आफ्नै भूगोलमा जिम्मेवारी लिन चाहन्थिन्। पार्टीले तोकेपछि जानैपर्‍यो। ‘मेरो इच्छविपरीत म इलाम गएँ,’ शिवमाया भन्छिन्, ‘पहाडी बाटो, उपनिर्वाचनको संघार, नबुझेको भूगोल सहज थिएन।’ अनेक अप्ठ्यारा छिचोल्दै शिवमाया इलाम पुगिन्। सकेजति बल लगाइन् र नेता व्यवस्थापन गरिन्।

‘सुहाङलाई टिकट दिनुपूर्व एमालेमा बग्रेल्ती आकांक्षी थिए। सबैलाई सम्झाउनुपरेको थियो’, शिवमाया भन्छिन्, ‘टिकट दिएपछि सबै लाग्नुपर्छ भन्ने लाग्यो।’ सुहाङ जुनियर पात्र, भूगोल कम बुझेको भएकाले केही समस्या थिए।

एमाले कार्यकर्ताका अनुसार शिवमाया होटलको कोठाभित्र बसेर योजना बनाउँथिन् र अरूलाई फिल्डमा खटाउँथिन्। ‘अघिल्लो दिन बेलुका कसलाई कुन गाउँमा पठाउने डायरीमा टिप्थेँ,’ उनी भन्छिन्, ‘सबै नेताहरू एकसाथ लागिदिनुभयो।’ शिवमाया झन्डै दुई महिना इलामको ग्रिन भ्यु होटलमा बसिन्। उनले त्यहाँ रहँदा चुनावको योजनामात्र बनाइनन्, जित्ने ठोस आधार पनि खोजिन्।

‘दिदीले सरल तरिकाले सबैलाई समन्वय गर्नुभयो। जिम्मेवारी राम्ररी पूरा गर्नुभयो,’ एमाले इलामका सचिव उमेश गुरुङ भन्छन्, ‘गाउँगाउँ पुगेर कार्यकर्ता खटाउन काममा शिवमाया दिदी निरन्तर लाग्नुभयो।’ यसबेला सुहाङविरुद्ध प्रतिस्पर्धीका ‘हेभिवेट’ उम्मेदवार थिए। शिवमायाले लगातार संघर्ष गरेर चुनाव जिताइन्।

विभेदविरुद्ध लडेर राजनीतिमा स्थापित

शिवमाया राजनीतिक परिवारमा हुर्किएकी हुन्। बुवा ललितबहादुर सुब्बा पञ्चायतको कट्टर विरोधी थिए। कुनै बेला धनकुटाको घुमाउने चौतारामा क्रान्तिकारी जनसरकार घोषणा गरेर उनलाई गभर्नर बनाएको थियो। यसैको रापताप शिवमायामा पर्‍यो। उनका दाजु विजय सुब्बा एमालेमा सक्रिय छन्।

‘परिवारमा सबैजना राजनीतिमा छौँ। कुराकानी हुँदा प्रायः राजनीतिबारे हुन्छ,’ शिवमाया भन्छिन्। शिवमाया सानैदेखि ‘समानताका लागि लड्न’ चाहन्थिन्। त्यही मुद्दा उठाउँदाउठाउँदै राजनीतिमा आइपुगेको उनी बताउँछिन्।

‘हामी जनजातिका छोरीलाई क्षेत्रीबाहुनका भन्दा अलि खुला छाडिन्थ्यो,’ शिवमायाले हाँस्दै भनिन्, ‘त्यही कारण हामी छोरा मान्छेजत्तिकै भएर गाउँघर हिँड्न थाल्यौँ।’ त्यसैबेला शिवमायाले जातजातिबीच विभेद देखिन्। यसैविरुद्ध अभियानमा लागिन्। ‘धेरै पढ्नुपर्छ भन्ने लाग्दैनथ्यो। घरमा पढ्ने वातावरण पनि थिएन,’ उनले भनिन्।

अनौठो के भयो भने पढ्ने वातावरण नभएकी शिवामायाले राजनीतिशास्त्रमा विद्यावारिधि (पीएचडी) उपाधि लिइन्। तेह्रथुममा जन्मिएकी शिवमायाको औपचारिक शिक्षा झापाको स्कुलचन निमाविबाट भयो। शिवमायाले काठमाडौँको नेपाल ल क्याम्पसबाट बीएल पास गरिन्। महेन्द्ररत्न क्याम्पस ताहाचलबाट बीएड गरिन्। त्रिविबाट राजनीतिशास्त्रमा एमए गरिन्। उनले ‘नेपालमा राजनीतिक महिला आन्दोलन’ विषयमा २०६४ मा पीएचडी गरेर डाक्टरको उपाधि पाइन्।

शिवमायाको राजनीतिक अनुभव लामै छ। उनले अनेरास्ववियुको अध्ययन दल, सहप्राक, प्राक हुँदै केन्द्रीय कमिटीको महिला विभाग प्रमुख र उपाध्यक्ष भई काम गरेकी छन्।अनेमसंघ केन्द्रीय कमिटी सदस्य र मोरङ जिल्लाको इन्चार्ज भएर काम गरेको अनुभव पनि उनीसँग छ। अहिले उनी इलाम इन्चार्ज र स्थायी कमिटी सदस्य छन्।

केही अवसर पाउनै लाग्दा पनि गुमाउनपरेको क्षण सम्झँदा शिवमाया भावुक बन्छिन्। उनी उपसभामुख बनिन्, सभामुख बन्न पाइनन्। प्रत्यक्ष चुनाव लड्न चाहन्थिइन् तर समानुपातिकमा बस्नुपर्‍यो। एमालेको दसौँ महाधिवेशनमा पदाधिकारीकी आकांक्षी थिइन् स्थायी समितिमा सीमित भइन्।

शिवमाया २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ १ बाट आकांक्षी थिइन्। एमालेबाट घनश्याम खतिवडाले टिकट पाए। यसपछि वञ्चित शिवमाया पार्टीभित्र जिम्मेवारी खोजिरहेकी थिइन्। यसैबेला इलामको जिम्मेवारी आइलाग्यो।

राजनीति अविरल यात्रा हो भन्ने कुरा शिवमायाले राम्ररी बुझेकी छन्। राजनीतिमा सबैथोक पाइन्छ र गुमाइन्छ। उनले भोगेकी छन्। पहाडको घरबाट उनी झापा झरिन्। विदेश गइन्। अब अन्तर्राष्ट्रिय जिम्मेवारी पाउँदैछिन्। पार्टी बनाउन हिँड्दा अनेक सकस झेलेको उनी बताउँछिन्।

यद्यपि उनी सन्तुष्ट छन्। सायद उनले राजनीतिबाट केही पाइन्। उनी भन्छिन्, ‘राजनीतिले मलाई सचेत गरायो।’ नेता भएपछि सचेतनाका स्वरहरू उठाइरहेकी छन्। यसैबाट उनी अरूलाई पनि सिकाइरहेकी छन्। शिवमाया भन्छिन्, ‘अब सामाजिक कुरामा अरूलाई पनि सचेत गराइरहेकी छु।’ शिवमायाले कुनै बेला भनेकी थिइन्, ‘राजसंस्थाभन्दा पितृ संस्थाको घेरा जटिल रहेछ।’ उनको विगतले त्यस्तै भन्छ। उनले यी घेरा छिचोल्ने प्रयत्न गरिन्। कति सफल भइन् त कति असफल। यस्तै प्रयत्न अझै गरिरहेकी छन् शिवमाया।

शिवमायाको विवाह ३२ वर्षको उमेरमा मोरङका तत्कालीन उर्लाबारी गाविस अध्यक्ष घनेन्द्र जीमीसँग भएको थियो। शिवमायाका दुई छोरा प्रशान्त र प्रतीक सिभिल इन्जिनियरिङ अध्ययनरत छन्। श्रीमान्को भने निधन भइसकेको छ।

प्रकाशित: १८ साउन २०८१ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =