इजरायलको केयरगिभरका लागि महिलाभन्दा पुरुषको बढी आवेदन

हिमाल प्रेस १७ साउन २०८१ १४:००
28
SHARES
इजरायलको केयरगिभरका लागि महिलाभन्दा पुरुषको बढी आवेदन इजरायल।

काठमाडौँ- इजरायलको दीर्घकालीन स्याहार केन्द्रको रोजगारीका लागि ४ हजार २४ जनाको आवेदन परेको वैदेशिक रोजगार विभागले जनाएको छ। गत महिना विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रको रोजगारीका लागि आवेदन खुलाएको थियो। जसमा ४ हजार २४ आवेदनमध्ये २ हजार १ सय १९ पुरुष र १ हजार ८ सय १५ जना महिलाको आवेदन परेको विभागले जनाएको छ।

इजरायलले केयरगिभरमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष लैजाने व्यवस्था छ। तर यस पटक भने महिलाभन्दा बढी पुरुषको आवेदन परेको विभागको तथ्यांक छ। इजरायलले दुई हजार नेपाली कामदार लैजान सहमति भएअनुसार खुलाइएको आवेदनमा पुरुषको आवेदन बढी परेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए। यस पटक विगतको तुलनामा उल्टो आवेदन परेको छ। पुरुषको ५५ प्रतिशत र महिलाको ४५ प्रतिशत आवेदन परेको उनले बताए।

पहिलो पटक इजरायलले केयरगिभरमा ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना वैकल्पिक कामदारको माग गरेको छ। गत साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटपछि इजरायलले नेपाली श्रमिकको संख्या वृद्धि गरेको थियो।

यस बर्ष इजरायलले एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली लैजाने भएको हो। जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदार लैजाने सहमति भएको विभागले जनाएको छ।

आवेदन दिने पुरुष बढी भएपनि छनोट हुने संख्या भने महिलाको बढी हुने विभागले जनाएको छ। १४-१५ दिनपछि आवेदन दिएका परिक्षार्थीहरूको परिक्षा गर्न तयारी भइरहेको सूचना अधिकारी सुवेदीले जानकारी दिए। उनका अनुसार आवेदनमाथि छानबिन र कागजात रुजु गर्ने क्रम भइरहेको छ।

आवेदकहरूको अन्तिम सूची सार्वजनिक गर्दा केही संख्या घट्ने विभागको भनाइ छ। गत बर्ष इजरायल आठ सयभन्दा बढी कामदार गएको विभागले जनाएको छ। इजराय र हमासबीच भएको युद्धका कारण रोकिएको इजरायलको रोजगारी गत बैशाखपछि खुलेको थियो। इजरायल रोजगारीमा जाने कामदारले हिब्रु र अंग्रेजी भाषा जान्नुपर्छ।

प्रकाशित: १७ साउन २०८१ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =