१० गुणाबढी किमो दिएपछि बिरामीको मृत्यु, दुई नर्स निलम्बित

हिमाल प्रेस १७ साउन २०८१ १३:१४
64
SHARES
१० गुणाबढी किमो दिएपछि बिरामीको मृत्यु, दुई नर्स निलम्बित

चितवन- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुई जना नर्सलाई निलम्बन गरिएको छ। यस्तै, दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको छ।

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो। बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए।

अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो। उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताए। उनका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो।

‘खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो। रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए/नभएको पत्ता गराउन गरिने परिक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो। सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो,’ उनले भने। बिरामीको उपचारमा लापर्बाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ। सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ।

अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो। समितिले ३ साउनमा प्रतिवेदन बुझाएको महतोले जानकारी दिए। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुई जनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताए। यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

प्रकाशित: १७ साउन २०८१ १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =