सात लाख पाउनुपर्ने विद्यालयले ८८ लाख रुपैयाँ पाएपछि…

विवेक विवश रेग्मी १७ साउन २०८१ ११:४८
102
SHARES
सात लाख पाउनुपर्ने विद्यालयले ८८ लाख रुपैयाँ पाएपछि…

इटहरी– इटहरीमा ८० लाख अपचलन गरेको घटना बाहिरिएपछि एक विद्यालयका प्रधानाध्यापक छटपटीमा परेका छन्। इटहरी १४ मा रहेको श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिना सरकारको ८० लाख रकम कसरी भुक्तानी गर्ने भनेर छटपटीमा परेका हुन्। आर्थिक वर्ष ०७९।८० मा शिक्षकको तलब (तीन महिना)बापत इटहरी उपमहानगरले विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने थियो। उपमहानगरका कर्मचारीको लापरबाहीका कारण विद्यालयको खातामा त्रुटिबस ८० लाख बढी रकम जम्मा हुन पुग्यो।

उक्त रकम विद्यालयको खातामा जम्मा भएको २२ महिनापछि घटना बाहिरिएको छ। आन्तरिक लेखापरीक्षण (आलेप) ले उपलब्ध हुनेभन्दा बढी भुक्तानी भएको पत्ता लगाएपछि घटना बाहिरिएको हो।

इटहरी उपमहानगरपालिकाले २०७९ सालको साउन, भदौ, असोज (चाडपर्व खर्चसमेतको) तलबभत्ताबापत  विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने थियो। उपमहानगरका कर्मचारीले भने विद्यालयको खातामा ८८ लाख २४ हजार २४३ रुपैयाँ जम्मा गरिदिएका थिए।

प्रधानाध्यापकले हालसम्म विद्यालयमा रकम बढी गएको उपमहानगरमा जानकारी गराएका थिएनन्। आलेपले प्रतिवेदनमा ८० लाख बढी रकम उपलब्ध गराएको देखाएपछि उपमहानगरले विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गर्दै रकम फिर्ता गर्न पत्रसमेत काटिसकेको छ।

२०८१ असार २७ र साउन १ गते पत्र काटेर रकम फिर्ता गर्न ताकेता गरेपछि तिम्सिनालाई कसरी भुक्तानी गर्ने भन्ने चिन्ता बढेको छ। स्रोतका अनुसार संघीय सरकारको बजेटबाट उक्त रकम विद्यालयको खाता २२२०१००००१३९६०१ नम्बरमा जम्मा भएको थियो। संघीय सरकारको तलब बुझ्ने सातजना शिक्षकका लागि तीन महिनाको कुल ७ लाख ३६ हजार ६६३ रकम उपलब्ध गराउनुपर्ने भए पनि इटहरी उपमहानगरले भने ८० लाख बढी रकम उपलब्ध गराएको र हालसम्म उपमहानगरलाई बढी रकम आएको प्रधानाध्यापक तिम्सिनाले जानकारी गराएनन्।

इटहरीका ३६ वटै सामुदायिक विद्यालयलाई उपमहानगरले २०७९ असोज ५ गते राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत कुल ६ करोड ३० लाख ६१ हजार ६६० रुपैयाँ जम्मा गरेको थियो।

जसमध्ये श्री शान्ति सिर्जना माध्यमिक विद्यालय (कोड नं. ०६०२७०००५) को खाता नम्बरमा ८० लाख ८७ हजार ५८० रुपैयाँ रकम जम्मा भएको थियो।

उपमहानगरले भने एउटा अंक बढी थिचिएका कारण त्रुटि भएर पैसा बढी गएको बताउँदै आएको छ। ‘तलब निकासा हुने बेला सिट बनाएर सबै विद्यालयलाई केही गल्ती भए रुजु गरौँ भनेर पठाइएको थियो। स्कुलबाट केही प्रतिक्रिया नआएपछि सोहीअनुसार बजेट निकासा भयो,’ इटहरी उपमहानगरका एक कर्मचारीले भने, ‘आलेपले भेट्टाएपछि हामीले तत्काल विद्यालयलाई पत्र काटेर पैसा फिर्ता गर्न भनेका छौँ।’

इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बढी पैसा गएको भए विद्यालयले फिर्ता गर्नुपर्ने बताए। विद्यालयले जुनै स्रोतबाट भए पनि रकम फिर्ता गर्नुपर्ने उनको भनाइ छ।

‘सरकारी ब्याज असुलउपर सरह कानुन छ, त्यो बमोजिम शुल्क असुल हुन्छ,’ उनले भने, ‘पैसा फिर्ता नगरे पेन्सन कट्टा हुन्छ। अरु पनि कानुनअनुसार विभिन्न कारबाही हुनसक्छ।’

उपमहानगरले पत्र काटेको ९० दिनभित्र रकम फिर्ता गर्नुपर्ने व्यवस्था रहेका कारण सोहीबमोजिम रकम फिर्ता भइरहेको प्रशासकीय अधिकृत मेहताले बताए। उनका अनुसार विद्यालयका प्रधानाध्यापक तिम्सिनाले सरकारको बेरुजु खातामा साउन ७ र १४ गतेको मितिमा सात-सात गरी १४ लाख रुपैयाँ फिर्ता गरेका छन्। अन्य रकम भने फिर्ता गर्न बाँकी छ।

विद्यालयका प्रधानाध्यापक तिम्सिनाले आफूबाट गल्ती भएको स्वीकार गरे। ‘त्यसबेला स्कुल पनि आर्थिक क्राइसेसमा थियो, सबै पैसा स्कुलमै खर्च भएको हो,’ उनले भने, ‘अब त्यसलाई करेक्सन गरेर जानुपर्ने हुन्छ।’ ८० लाख रुपैयाँ कहाँकहाँ खर्च गरिएको भनेर उनले केही बताएनन्।

उनले पैसा फिर्ता गर्न आफूसँग स्रोत नभएको बताए। तिम्सिनाले उल्टै आलेपलाई दोष लगाए। ‘आन्तरिक लेखापरीक्षण ढिलो भएकाले यो समस्या आएको हो,’ तिम्सिनाको स्पष्टोक्ति छ, ‘आलेप छिटो भएको भए, पहिल्यै पैसा फिर्ता गर्न सहज हुन्थ्यो।’

तिम्सिना एकीकृत समाजवादी निकट प्रगतिशील राष्ट्रिय शिक्षक संगठनमा आबद्ध छन्। सोही संगठनबाट प्रतिनिधित्व गर्दै उनी गत वैशाख १०, ११ र १२ गते काठमाडौँमा भएको नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। शिक्षकको नेता भनेर चिनिने उनी पार्टीको आडमा शक्ति प्रदर्शनसमेत गर्न रुचाउने गरेको स्रोतले जनाएको छ।

‘एउटा सामुदायिक विद्यालयको शिक्षकले राज्यको पैसा यसरी झण्डै दुई वर्षसम्म बदनियतपूर्ण तरिकाले अपचलन गर्नु कतिसम्मको लापरबाही हो?’ स्रोतले भन्यो, ‘राज्यको पैसा अपचलन गर्ने ती शिक्षकलाई हदैसम्मको कारबाही हुनुपर्छ।’

प्रकाशित: १७ साउन २०८१ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + ten =