काठमाडौँ- काभा महिला भलिबल नेसन्स लिग बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु हुँदैछ। मध्य एसियाका क्याटेगोरी ‘ए’ र क्याटेगोरीका ‘बी’का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ। खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ। त्यसअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गर्नेछन्।
नेपाल र श्रीलंकाबीच सन् २०२१ पछि पहिलोपटक खेल हुन लागेको हो। सन् २०२१ मा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा पाँच सेटमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो। आजै साँझ पौने ६ बजे भारत र इरानबीच पनि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ। इरान पहिलोपटक नेपालमा खेल्न आएको हो। नेसन्स लिग राउण्ड रोविन लिगका आधारमा हुनेछ। सिंगल राउण्ड रोविन लिगमा सबै टोलीले एक आपसमा खेलेपछि सेमिफाइनल र फाइनल खेल हुनेछ।
लिगमा शीर्ष चारमा रहने टोली सेमिफाइनल पुग्नेछ भने पाँचौ हुने टोली बाहिरिनेछ। लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ।
सबै खेल दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ। आयोजक नेपालको लागि घरेलु मैदान र समर्थकले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।