जिल्ला अध्यक्षहरूको भेला गर्दै राप्रपा

हिमाल प्रेस १७ साउन २०८१ ७:२१
50
SHARES
जिल्ला अध्यक्षहरूको भेला गर्दै राप्रपा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला काठमाडौँमा हुने भएको छ ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले यही साउन १७ गते धुम्बाराहीस्थित एसआर बैंक्वेटमा दुई दिने भेलाको उद्घाटन गर्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार भेलामा ७७ वटै जिल्ला अध्यक्षहरूले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।

भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भीर समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति र यसले पार्टी पंक्ति तथा जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने भएको छ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन गर्ने साथै २०८४ मा हुने तीन तहकै निर्वाचनको रणनीति तय गर्ने विषयमा छलफल हुने सचिवालय प्रमुख महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए।

उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्य योजनाबारे जिल्ला अध्यक्षहरूलाई निर्देशन गर्नेछन् ।

पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी र नेताहरूले पार्टी संगठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम राखिएको छ।

प्रकाशित: १७ साउन २०८१ ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =