साइबर ब्युरोलाई सुनीता डंगोलको आग्रह : प्रविधि दुरुपयोगबाट चरित्रहत्या गरियो, कारबाही होस्

हिमाल प्रेस ३० साउन २०८१ १६:५९ | Wednesday, August 14, 2024
साइबर ब्युरोलाई सुनीता डंगोलको आग्रह : प्रविधि दुरुपयोगबाट चरित्रहत्या गरियो, कारबाही होस्

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले एआईको प्रयोग गरी विभिन्न अनधिकृत सामाजिक सञ्जालमार्फत आफ्नो नाम जोडेर चरित्रहत्या गर्ने काम भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेकी छन्। यसअघि पनि त्यस्ता पेजहरू बन्द गर्न आग्रह गरेको र अहिलेसम्म बन्द नभएको भन्दै उनले पुनः पत्र लेखेकी हुन्।

२०८१ जेठ १३ र असार २५ गते केही फेसबुक पेजहरूलाई बन्द गर्न पत्राचार गरेको तर अहिले पनि प्रयोगमै रहेको उनको गुनासो छ।

‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेसन गरी सामाजिक सञ्जालहरूमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरू हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरूलाई कानुनबमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु,’ डंगोलका तर्फबाट उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख लेखिएको छ।

उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत महिलाको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउनेजस्ता गलत गतिविधि मौलाएको भन्दै त्यस्ता पेजहरूको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिइन्।

‘अनधिकृत तरिकाले खोलिएका पेजहरूमार्फत समाजमा वैरभाव फैलाउने, सामाजिक सद्भाव भड्काउने, महिलाको चरित्रहत्या गर्नेजस्ता कार्यहरू बढ्दै गएका छन्,’ उनले भनिन्, ‘मेरै सन्दर्भमा पनि यस्ता खालका पेजहरू प्रविधिको दुरूपयोग गरेर चरित्रहत्या गर्ने कार्यहरू भइरहेका छन्। यस्ता कुरालाई नियन्त्रण नगर्ने हो भने आम महिला दिदीबहिनीहरूले बढ्दो प्रविधिको प्रयोगसँगै असुरक्षित महसुस गर्नुपर्ने हुन्छ। त्यसैले यस्ता गविविधि नियन्त्रण गर्नुपर्छ भनेर मैले सार्वजनिक मञ्चहरूमा पनि भन्दै आएकी छु।’

प्रकाशित: ३० साउन २०८१ १६:५९ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast