संसदीय समितिको सभापतिमा कांग्रेस र एमालेबीच भागबन्डा

हिमाल प्रेस २९ साउन २०८१ २१:०१ | Tuesday, August 13, 2024
संसदीय समितिको सभापतिमा कांग्रेस र एमालेबीच भागबन्डा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- रिक्त रहेको संसदीय समितिको सभापतिमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा भएको छ।

भागबन्डाअनुसार दुवै दलले एक/एक सभापति लिने भएका छन्। सोहीअनुसार आगामी बिहीबार निर्वाचनको मिति तय गरिएको छ।

सहमतिअनुसार एमालेले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति लिनेछ। नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति लिनेछ।

कांग्रेसले सुनुवाइ समितिको सभापतिमा सांसद इश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ।

राज्यका निर्देशक सिद्धान्त समितिको सभापतिमा एमालेले ठाकुर गैरेलाई उम्मेदवार बनाउने तयारी गरेको छ। यी दुवै संघीय संसदको दुवै सभा (राष्ट्रिय सभा र प्रतिनिधि सभा) संयुक्त समिति हुन्।

नेताहरूका अनुुसार सुरुमा राष्ट्रिय सभा सदस्य विमला घिमिरेलाई राज्यका निर्देशक सिद्धान्त समितिको सभापति बनाउने विषयमा छलफल चलेको थियो। घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष भएपछि राष्ट्रियसभाकै अर्का सदस्य तुलसा कुमारी दाहाललाई उम्मेदवार बनाउने गरी छलफल चलेको थियो।

तर प्रतिनिधिसभा सदस्यबाटै सभापति बनाउनुपर्ने मत बलियो भएपछि ठाकुर गैरेलाई समिति सभापतिको उम्मेदवार बनाउन लागिएको नेताहरू बताउँछन्।

तथापि प्रतिनिधिसभाकै अर्का सदस्य लालप्रसाद सावाँ लिम्बुले समेत यो समितिको सभापतिमा आकांक्षा राखेका छन्।

मंगलबार मात्रै उनी राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सदस्य भएका छन्। यसअघि यो समितिमा रहेका हेमराज राईको ठाउँमा लालप्रसाद सावाँ लिम्बुलाई लगिएको छ।

सदस्य हेरफेरको प्रस्ताव सभामुख घिमिरेले सभाको बैठकमा प्रस्तुत गरेका थिए, जसलाई सभाले सहमति दिएको छ।

सभापतिका लागि बुधबार सभापतिका लागि उम्मेदवारी दर्ता हुँदैछ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डले सूचना निकालेर बुधबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जानकारी दिएका छन्।

उम्मेदवारहरूको नामावली बुधबार दिउँसो ४ बजे सार्वजनिक हुनेछ। बिहीबार दिउँसो ३ बजे सम्बन्धित समितिको सभाकक्षमै सभापतिको निर्वाचन हुने कार्यतालिका छ।

प्रकाशित: २९ साउन २०८१ २१:०१ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast