सुमना श्रेष्ठ र विद्या भट्टराई
काठमाडौँ– पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सुरक्षा व्यवस्थासहित उच्च मनोबलका साथ त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने भनेर प्रश्न गरेकी छन्।
शिक्षामन्त्री भट्टराईले केही दिनदेखि त्रिवि पदाधिकारी र प्राध्यापकहरूलाई धम्की दिइरहेका कारण विश्वविद्यालय असुरक्षित रहेकाले सुरक्षा व्यवस्था गर्न सामाजिक सञ्जालमार्फत गृह मन्त्रीसँग माग गरेकी थिइन्। पूर्वमन्त्री श्रेष्ठले सामाजिक सञ्जालबाटै मन्त्री भट्टराईलाई उक्त प्रश्न गरेकी हुन्।
मन्त्री भट्टराईले लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु। गुण्डागर्दी गर्ने छुट कसैलाई छैन। यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु।’
श्रेष्ठले एमालेलाई संकेत गर्दै विश्वविद्यालयमा दशकौँदेखि चरम राजनीति गरेर आपराधिक राजनीतिको संरक्षण गर्दै आएको आरोप लगाएकी छन्। उनले लेखेकी छन्, ‘दशकौँदेखि आफैँ विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, आपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनीतिक प्रश्रय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?’ भट्टराई एमालेबाट मन्त्री भएकी हुन्।
मन्त्रीले काम गर्न चाहेमा धेरै गर्न सक्ने उदाहरण रहेको सुमनाको भनाइ छ। ‘अहिलेको दुई तिहाईको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नुपर्ने हो?’ उनको प्रश्न छ। त्रिवि पदाधिकारीमाथि दिइएको धम्कीबारे आफूले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेको जानकारी दिएकी छन्। उनले लेखेकी छन्, ‘दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउनुहोस्। देशले योभन्दा बढी कति गुमाउनुपर्ने हो? अझै कति पुस्ताले यो हविगत बेहोर्नुपर्ने हो? No ‘if’ no ‘but’ दलीय राजनीति शिक्षा क्षेत्रबाट CUT!’
त्रिविमा पनि दुईतिहाई सरकार रहेको व्यंग्य सुमनाको छ। ‘एउटा विद्यार्थी संघ र अर्को प्राध्यापक संघ। अनि सबै संघले पाएको छ संघीय सरकारका दुईतिहाईको बहुमतले सरकार बनाएका ठूला दलका आशीर्वाद’, उनले फेसबुकमा लेखेकी छन्।
त्रिविमा पदाधिकारीले राजनीतिक भ्रातृ संगठनका कारण सबै अस्तव्यस्त भएको भनाइ पूर्वमन्त्री श्रेष्ठको छ। उनले लेखेकी छन्, ‘सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउनेमाथि घातक प्रहार गर्ने, राजनीतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो – सबै गर्ने औजार हो राजनीतिक भ्रातृ संगठन!’ उनले दुईतिहाईको सरकारले के दियो भनेर पनि प्रन् गरेकी छन्। उनको प्रश्न छ, ‘स्थायित्व कता गयो? गुण्डाहरुको मनोबल किन बढेको? विधिको शासन कता गयो? कसको आडमा? कसको प्रश्रयमा?’



