विवादपछि पहिलो पटक बस्दैछ एमाले लुम्बिनी संसदीय दलको बैठक

हिमाल प्रेस १ भदौ २०८१ ७:३२ | Saturday, August 17, 2024
विवादपछि पहिलो पटक बस्दैछ एमाले लुम्बिनी संसदीय दलको बैठक

काठमाडौँ- लुम्बिनी प्रदेशमा सत्तारुढ नेकपा एमालेको शनिबार संसदीय दलको बैठक बोलाएको छ।

संसदीय दलको नेताको विवाद टुंगो लगाउने तयारीका लागि बैठक बोलाइएको हो। मुख्यमन्त्री एवं एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले शनिबार बुटवलमा दलको बैठक बोलाएको भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले बताए।

साउन ७ गते एमालेले दलको नेता लिला गिरीलाई छाडेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै संसदीय दलका नेता गिरीले राजीनामा दिएका थिए । राजीनामापछि संसदीय दलको पहिलो पटक बैठक बस्न लागेको हो। आजको बैठकमा गिरीलाई दलको नेता बनाउने तयारी छ। मुख्यमन्त्री आचार्यले यसबारे प्रस्ताव राख्ने बताइएको छ।

मुख्यमन्त्रीको बुटवलस्थित सम्पर्क कार्यालयमा शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सदस्यहरुले जनाएका छन् ।

एमाले संसदीय दलका नेता गिरीले आफूलाई अहिलेसम्म राजीनामा स्वीकृत वा अस्वीकृतको विषय र बैठकको बारेमा कुनै जानकारी नभएको जनाएका छन् ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित: १ भदौ २०८१ ७:३२ | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast