काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत् विकासको क्षेत्रमा प्रसारण लाइनलाई महत्त्वका साथ अघि बढाइने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय संस्थाले संयुक्तरूपमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले प्रसारण लाइन नहुँदा उत्पादित विद्युत् खेर जाने अवस्था आउने भएकाले विद्युत् विकासको क्षेत्रमा प्रसारण लाइनलाई महत्त्वका साथ अघि बढाइने बताएका हुन्।
नदी प्रणालीमा आधारित भएर पूर्वपश्चिम प्रसारण प्रणालीका साथै अन्तरदेशी प्रसारण लाइनका लागि लगानी केन्द्रित हुनुपर्ने उनले बताए। उनले विद्युत् उत्पादन र बिक्री गर्ने मानसिकताबाट माथि उठ्दै आन्तरिक उपभोगलाई बढावा दिने नीति आवश्यक रहेको धारणा राखे।
आन्तरिक उपभोगबाट बचेको विद्युत् मात्रै अन्तर्राष्ट्रिय बजारमा उचित मूल्यका साथ बिक्री गर्नुपर्ने उनको भनाइ छ। उनले धितोपत्र बोर्डलाई नेतृत्वविहीन अवस्था लामो समय राख्न नहुने भन्दै यस समस्याको शीघ्र समाधानको पक्षमा सरकार रहेको धारणा राखे।

                                             
                                             
                                             
                                             
                                             
                                             

