विद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोमा पुरिएर मृत्यु

हिमाल प्रेस ३१ साउन २०८१ २०:५६ | Thursday, August 15, 2024
विद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोमा पुरिएर मृत्यु प्रतीकात्मक तस्बिर।

खोटाङ- रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको छ। लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालय नजिकै सडकमाथिबाट झरेको पहिरोले पुरिएकी ५७ वर्षीया शिक्षिका सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो।

विद्यालय पुग्न करिब एक सय ५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिरोले पुरिएकी शिक्षिका सावित्रादेवीलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गर्नेक्रममा डेढ घण्टापछि मृत फेला पारेको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए।

पहिरोमा शिक्षिका सावित्रादेवीभन्दा अगाडि पछाडि सँगसँगै यात्रामा रहेका भागेर ज्यान बचाउन सफल भएको प्रत्यक्षदर्शीले बताएका छन्। वडा कार्यालयभन्दा उत्तरतर्फ लामीडाँडा विमानस्थल र रभुँवाघाट जाने दुई वडा सडकमध्ये लामीडाँडा विमानस्थल जाने सडकमुनिबाट झरेको पहिरोले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको वडाध्यक्ष मगरले जानकारी दिए।

२०५७ देखि सो विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी केही महिनापछि अनिवार्य अवकाश हुने तयारीमा थिइन्।

प्रकाशित: ३१ साउन २०८१ २०:५६ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast