लेखासमितिको सभापति प्रमुख प्रतिपक्षी दलले नै पाउनुपर्छ : चित्रबहादुर केसी

हिमाल प्रेस ११ भदौ २०८१ १६:४१ | Tuesday, August 27, 2024
लेखासमितिको सभापति प्रमुख प्रतिपक्षी दलले नै पाउनुपर्छ : चित्रबहादुर केसी चित्रबहादुर केसी। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले नेकपा (माओवादी केन्द्र) को सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माग जायज रहेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल भएकाले माओवादी केन्द्रले सो पद माग गर्नु उचित भएको बताएका हुन्। अध्यक्ष केसीले आफ्नो पार्टीले पनि प्रतिपक्ष दलको हैसियतमा रहँदाखेरी सो पद पाएको स्मरण गराउँदै त्यो नियमको पालना गर्न सत्तारुढ दलहरूलाई आग्रह पनि गरे।

उनले सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने परिपाटी ठूला दलहरूमा रहेकाले मुलुकमा भ्रष्टाचार बढ्दै गएको दाबी समेत गरे।

‘संसदीय व्यवस्था भएका मुलुकहरूमा त्यसका केही मूल्यमान्यताहरु छन्। अहिले प्रतिपक्षका साथीहरूले लेखा समितिको सभापति आफ्नो हुनपर्छ भनेर उहाँहरुले जो माग गर्नुभएको छ। त्यो जायज छ,’ उनले भने, ‘हाम्रो पार्टी पनि प्रतिपक्षमा छँदा कांग्रेस सत्तामा हुँदाखेरी राष्ट्रिय जनमोर्चालाई लेखा समितिको सभापति दिएको थियो नेपाली काँग्रेसले। त्यो नियम त पालना गर्नुपर्‍यो नि।’

अध्यक्ष केसी संसदीय मूल्य र मान्यता विपरित चल्ने काम पनि ठूला दलहरूले नै गरेको बताए। उनले भने, ‘सत्तामा छदाखेरी आँखा चिम्लेर परिवारवाद, भ्रष्टाचारीहरुलाई जोगाउने, तिनबाट फाइदा उठाउने, जब सत्ताबाट बाहिर हुन्छ, अनि पानीबाट बाहिर निकालेको माछा जस्तो उफ्रने काम बन्द गर्नुपर्छ।’

प्रकाशित: ११ भदौ २०८१ १६:४१ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast