युनेस्कोले भन्याे : तालिबान सरकारले १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगायाे

हिमाल प्रेस ३२ साउन २०८१ ६:४८ | Friday, August 16, 2024
युनेस्कोले भन्याे : तालिबान सरकारले १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगायाे तस्बिर : रासस/एपी

काबुल- तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले जनाएको छ।

अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश हो। सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो शरिया वा इस्लामिक कानुनको उल्लंघन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो।

तालिबान सरकारले पुरुषको शिक्षामा रोक लगाएको छैन भने महिलाका लागि कक्षाकोठा र क्याम्पसहरू पुनः खोल्ने कुनै संकेत देखाएको छैन।

तालिबान सरकारले सत्ताकब्जा गरेदेखि कम्तिमा १४ लाख महिलाहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ। यो संख्या सन् २०२३ को तथ्यांकभन्दा तीन लाखले बढी हो।

‘यदि हामीले प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलाहरूलाई जोड्ने हो भने अब देशमा लगभग २५ लाख महिला शिक्षाको अधिकारबाट वञ्चित छन्। यो तथ्यांकले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीहरूको प्रतिनिधित्व गर्दछ’, युनेस्कोले भनेको छ।

तालिबान सरकारले यो टिप्पणीको कुनै जवाफ दिएको छैन। युनेस्कोका अधिकारीहरूले अफगानिस्तानमा शिक्षाको क्षेत्रमा दुई दशकको स्थिर प्रगति ‘लगभग समाप्त’ भएको चेतावनी दिएका छन्।

तालिबानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बाल श्रम र बाल विवाहमा वृद्धि भएको राष्ट्रसंघले जनाएको छ। दशकौँको द्वन्द्व र अस्थिरताले लाखौँ अफगानीलाई भोकमरीको संघारमा धकेलेको छ र देशमा बेरोजगारी दर उच्च छ।

प्रकाशित: ३२ साउन २०८१ ६:४८ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast