 
                             
                                            काठमाडौँ- आर्थिक वर्ष २०८०/८१ मा नेपालले कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ। उक्त आवमा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको निर्यात गरेको भन्सार विभागको विवरणमा उल्लेख छ।
आयातमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले लिएको छ। नेपालले एक वर्षमा ३ खर्ब ६५ करोड रुपैयाँ बराबरको पेट्रोलियम आयात गरेको छ। नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट सम्पूर्ण पेट्रोलियम खरिद गर्दै आएको छ। नेपालमै उत्पादित स्वच्छ ऊर्जाका रूपमा जलविद्युत्लाई प्रवर्द्धन गर्न नसक्दा ऊर्जामा नेपाल भारतसँग निर्भर रहँदै आएको छ।
पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपीजी, हवाई इन्धनलगायतमा नेपालको ठूलो निर्भरतालाई क्रमश: विद्युत् उत्पादन वृद्धि र उपभोगबाट प्रतिस्थापन गर्दै जानुपर्ने सरकारका नीतिगत दस्तावेजहरू सार्वजनिक भएका दशकौँ बितिसकेको छ। त्यसमा उल्लेख्य काम हुन नसक्दा आयातीत इन्धनमा निर्भरता बढ्दै गएको हो।
नेपाल आयल निगमले पछिल्लो वर्ष परिमाण उल्लेख्य नबढे पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको उच्च मूल्यवृद्धिका कारण धेरै रकम खर्चेर आयात गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पार्दै आएको छ। निगमले इन्धन आयातमा करसमेत उच्च रहेको र निगम सरकारलाई सबैभन्दा बढी कर बुझाउने संस्था भएको बताएको छ।
पाँच प्रमुख आयात
पेट्रोलियम : ३ खर्ब ६५ करोड
मेसिन र पार्टपुर्जा : ७८ अर्ब ८५ करोड
सवारीसाधन : ७८ अर्ब
औषधि : ४५ अर्ब ९० करोड
स्पन्ज आइरन : ३९ अर्ब २ करोड
पाँच प्रमुख निर्यात
जिंक सिट : ११ अर्ब ८५ करोड
पोलिस्टर यार्न र धागो : ११ अर्ब २१ करोड
गलैँचा : १० अर्ब ५७ करोड
जुस : ८ अर्ब ६५ करोड
अलैँची : ७ अर्ब ९३ करोड

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 