मानवअधिकार उल्लंघनकाे समीक्षा गर्न संयुक्त राष्ट्रसंघको टोली बंगलादेशमा

हिमाल प्रेस ६ भदौ २०८१ १६:०८ | Thursday, August 22, 2024
मानवअधिकार उल्लंघनकाे समीक्षा गर्न संयुक्त राष्ट्रसंघको टोली बंगलादेशमा फाइल तस्बिर

ढाका- शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने विद्यार्थी नेतृत्वको प्रदर्शनका क्रममा भएका कथित मानवअधिकार उल्लंघनको अध्ययन गर्न संयुक्त राष्ट्रसंघको एक टोली बिहीबार बंगलादेश पुगेको छ।

एक महिनाभन्दा बढी चलेको विद्यार्थी आन्दोलनमा व्यापक जन सहभागिता देखिएपछि गत अगष्ट ५ मा पूर्व प्रधानमन्त्री हसिना हेलिकप्टरबाट भागेर छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली पुगेकी थिइन्। उनको राजिनामाको जानकारी बंगलादेशका सेना प्रमुखले दिँदै देशले छिट्टै अन्तरिम सरकार गठन गर्ने बताएका थिए।

आन्दोलनका क्रममा ४५० जनाभन्दा बढीको मृत्यु भएको थियो भने अधिकांशले प्रहरीको गोली लागि वा बल प्रयोगका कारण ज्यान गुमाएका थिए। संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले गत साता एक प्रारम्भिक प्रतिवेदनमा प्रदर्शनका क्रममा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो संकेत रहेको र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो।

‘कथित उल्लंघनमा गैरन्यायिक हत्या, स्वेच्छाचारी गिरफ्तारी र हिरासत, बलपूर्वक बेपत्ता पार्ने, यातना र दुव्र्यवहारका घटनासमेत समावेश छन्,’ विज्ञप्तिमा भनिएको छ। मानव अधिकार कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब बंगलादेशमा उच्चस्तरीय समूहले ’ मानव अधिकार उल्लंघनको अनुसन्धानको खाका’ तयार गर्नेछ।’

संयुक्त राष्ट्रसंघकाे ढाकास्थित कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छलफलका आधारमा आगामी हप्ताहरूमा अनुसन्धानका लागि छुट्टै तथ्य पत्ता लगाउने टोली परिचालन गर्न सकिन्छ।’

बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्तालाई आवश्यक पर्ने सबै सहयोग आफ्नो प्रशासनले गर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लागेको थियो, जसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश थियो।

हसिनाले गठन गरेको बंगलादेशी युद्ध अपराध न्यायाधिकरणले हालैको अशान्तिलाई लिएर आफ्ना संस्थापकमाथि तीनपटक ‘सामूहिक हत्या’ को अनुसन्धान सुरु गरेको छ। यी तीनवटै मुद्दा निजी व्यक्तिले ल्याएका हुन् र हसिनाका केही पूर्व उच्च सहयोगीहरूको पनि नाम लिइएको छ।

प्रकाशित: ६ भदौ २०८१ १६:०८ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast