माओवादी बैठकमा प्रस्ताव : संगठन विस्तार र एकीकृत कार्ययोजनामा लागौँ

हिमाल प्रेस ९ भदौ २०८१ ६:५४ | Sunday, August 25, 2024
माओवादी बैठकमा प्रस्ताव : संगठन विस्तार र एकीकृत कार्ययोजनामा लागौँ

काठमाडौँ- पार्टीलाई जनमुखी बनाएर संगठन विस्तार, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन नेकपा माओवादी केन्द्रका नेताहरूले नेतृत्वलाई सुझाव दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी नेताहरूले सरकारमा रहँदा भएगरेका सकारात्मक काम-कारबाहीलाई लिएर जनतामाझ जानुपर्ने, सुशासन, समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राखेका थिए।

पार्टीभित्र आन्तरिक एकतालाई सबल बनाउनुपर्ने, नेताहरू एकीकृत रूपमा परिचालित हुनुपर्ने तथा कुनै पनि विवाद र द्वेष राख्न नहुनेमा उनीहरूले जोड दिए। उनीहरूले वर्गतर्फ फर्कने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेका थिए।

एकीकृत प्रयास गरिएको खण्डमा र विगतको गल्ती तथा कमजोरी स्वीकार गरेर अगाडि बढ्ने संकल्प भए पार्टी पूर्ण रूपमा पुनर्निर्माण भएर प्रमुख शक्ति बन्न सक्ने उनीहरूको धारणा थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारै नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा उक्त बैठक फलदायी भएको जानकारी गराएका थिए।

उनले आफहरू लगातार बैठक र छलफलमा र पार्टीलाई थप सशक्त बनाउने दिशामा केन्द्रित रहेको बताएका थिए। बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायत नेताको उपस्थिति थियो। रासस

प्रकाशित: ९ भदौ २०८१ ६:५४ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast