मर्स्याङ्दी बस दुर्घटना : उपचाररत १६ मध्ये सात जना डिस्चार्ज

हिमाल प्रेस १० भदौ २०८१ २०:०३ | Monday, August 26, 2024
मर्स्याङ्दी बस दुर्घटना :  उपचाररत १६ मध्ये सात जना डिस्चार्ज

काठमाडौँ– तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जनालाई सोमबार डिस्चार्ज गरिएको छ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको भारतीय पर्यटक सवार युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनीको ऐना पहरामा दुर्घटनामा परेको थियो।

अस्पतालका डा. रोहित सिंहले भने, ‘बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि अस्पतालमा ल्याइएकामा आज सात जनालाई डिस्चार्ज गरेका छौँ, बाँकी नौ जनाको अस्पतालमै उपचार भइरहेको छ, सबैको अवस्था सुधारोउन्मुख छ।’

आज डिस्चार्ज हुनेमा ५६ वर्षीया भारती पाटील, ४२ वर्षीया बर्षाभङ्गाणे, ७० वर्षीया कुमुदिनी झाम्रे, ४९ वर्षीया रुपाली सरोदे, ५९ वर्षीय हेमराज सरोदे, ४५ वर्षीया निलिमा भिरुड, ६५ वर्षीय सुनिल धाण्डे रहेको अस्पतालले जनाएको छ।

बाँकी नौ जना घाइतेमध्ये चार जनाको आइसियुमा उपचार भइरहेको छ। हाल ५१ वर्षीय प्रविन पाटील, ५३ वर्षीय अविनास पाटील, ५९ वर्षीय अनन्त इङ्णे, ४७ वर्षीया सिमा इङ्णे, ५८ वर्षीया आशा बोण्डे, ६२ वर्षीय नैनेश्वर बोण्डे, ५० वर्षीया शारदा पाटील, ४७ वर्षीया रेखा सुरवाडे तथा ५८ वर्षीया आशा पाटील उपचाररत रहेको अस्पतालले जनाएको छ।

डा. सिंहले भने, ‘घाइतेहरु अधिकांशको हात, खुट्टा, निधार, टाउको, छाती, ढाडलगायतका ठाउँमा गहिरो चोट लागेको छ, उहाँहरुको अवस्था सुधारोन्मुख छ।’

उपचार गराइरहेका ५९ वर्षीय अनन्त इङ्णेले आफूहरुको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताए। ‘हामीले राम्रो उपचार पाएका छौँ, समयमै राम्रो उपचारका कारण हाम्रो ज्यान बच्यो, सबैलाई धन्यबाद छ,’ उनले भने।

दुर्घटनामा २७ जना भारतीय पर्यटकहरुले ज्यान गुमाएका थिए। मृत्यु भएकाहरुको शव परीक्षण गरी भारतीय वायु सेनाको जहाजमार्फत भारत लगिएको छ। घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको थियो। भारतीय पर्यटकहरु यही भदौ ४ गते पशुपतिनाथको दर्शनका लागि काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको थियो।

प्रकाशित: १० भदौ २०८१ २०:०३ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast