भरतपुर महानगरका सबै वडामा सीसी क्यामेरा

हिमाल प्रेस २९ साउन २०८१ १५:०८ | Tuesday, August 13, 2024
भरतपुर महानगरका सबै वडामा सीसी क्यामेरा

चितवन- भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरूमा सीसी क्यामेरा जडान गरिने भएको छ। महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको हो।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपीआर) सहित चार सय १८ उच्च क्षमताका क्यामेरा जडान गर्न लागिएको हो। उनका अनुसार ६ वटा कम्पनीको बोलपत्र परेको छ।

महानगरपालिकाले रु १० करोड ८३ लाख बराबरको बजेटको बोलपत्र आह्वान गरेको छ। महानगरपालिकाका प्रमुख रेणु दाहालले सहरी क्षेत्रमा धेरै र  ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार सीसी क्यामेरा जडान गर्न लागिएको बताए। उनले भने, ‘महानगरका सबै वडामा सीसी क्यामेरा जडान गर्दैछौँ।’ ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ।

एकै ठाउँमा कन्ट्रोल रुम रहने गरी महानगर भरी उच्च प्रविधिका सीसी क्यामेरा जडान गर्न लागिएको प्रमुख दाहालको भनाइ छ। नेपाल टेलिकमको फाइबरमार्फत सीसी क्यामेरा सञ्चालन गरिने छ। महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो।

बोलपत्रको टुङ्गो लागेपछि सकार्ने कम्पनीसँग सम्झौता गरेको चार महिनाभित्रमा काम सम्पन्न हुने दाहालको भनाइ छ। उनले भने, ‘ढिलोमा यो आर्थिक वर्षभित्रमा महानगरका सबै वडामा सीसी क्यामेराको पहुँच पुग्नेछ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भाबेष रिमालले महानगरले जडान गर्ने क्यामेराबाट यहाँको शान्तिसुरक्षा र अमन चयनमा सहयोग पुग्ने बताए। शान्तिसुरक्षासँगै यहाँ हुने दुर्घटनाको अनुगमनका लागि क्यामेरा सहयोगी बन्ने छ। उनले भने, ‘कम जनशक्तिमा काम गर्नुपर्दा सीसी क्यामेरा निकै सहयोगी बन्ने छ।’ रासस

प्रकाशित: २९ साउन २०८१ १५:०८ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast