भक्तपुरकाे महादेव पोखरीमा दर्शनार्थीको घुइँचो

हिमाल प्रेस ३ भदौ २०८१ ११:०३ | Monday, August 19, 2024
भक्तपुरकाे महादेव पोखरीमा दर्शनार्थीको घुइँचो

भक्तपुर- चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्डअर्थात रत्नचुडेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ।रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनले महादेव पोखरीको नामले चिनिने रत्नचुडेश्वर महादेव मन्दिर र कुण्डमा मेला भर्न रातिदेखि नै भक्तजनको घुइँचो लागेको हो।

मन्दिरमा मध्यरातिदेखि नै दर्शनार्थीको आगमन भएको र बिहानसम्ममा दर्शनार्थीको घुइँचो लागेको चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए। हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका दर्शनार्थी एवं भक्तजन आउने जानकारी दिँदै उनले मेलाका लागि आवश्यक तयारी र व्यवस्थापन आइतबार नै सम्पन्न गरी दर्शनार्थीलाई सहज रूपमा स्नान एवं दर्शन गर्ने व्यवस्था गरिएको जानकारी दिए।

गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू आउने पुरानो कथन रहेको छ। भक्तजनले महादेव कुण्डमा स्नान गरी विभिन्न जातजातिका मानिसले आ–आफ्नो परम्पराअनुसार पूजाअर्चना गर्ने, झाँकीलगायत विभिन्न नाच प्रस्तुत गरेर मेला भर्ने गरेका छन्।

विभिन्न ठाउँबाट आएका भक्तजन पूर्णिमाको अघिल्लो रात जाग्राम बस्ने परम्परा रहेको छ। जाग्राम बसेर बत्ती बाल्ने भक्तजन हिजो साँझदेखि मन्दिरमा आएर रातभर जाग्राम बसेर बिहानै कुण्डमा स्नान गरी महादेवको पूजा एवं दर्शन गरेपछि रक्षाबन्धन बाँध्ने र जनै फेर्ने  गरेका छन्।

वडाध्यक्ष लामाले यस वर्ष ५० हजारभन्दा बढी भक्तजनले महादेव पोखरीमा दर्शन गर्ने अनुमान गर्दै सोहीअनुसारको व्यवस्थापन गरिएको बताए। महादेव पोखरी संरक्षण समाज एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले मेलाका लागि आउने दर्शनार्थीको सवारीसाधन व्यवस्थापनका लागि ट्राफिक प्रहरी, सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, नगरप्रहरी तथा अन्य व्यवस्थापनका लागि स्थानीय संघसंस्थाले सहयोग गर्ने गरेको बताए।

रत्नचुडेश्वर मन्दिर प्रांगणमा गत साउन ६ गतेदेखि श्रावणी महिनाको अवसर पारेर अति रुद्रीसहित शिव सहस्र नाम पूजन महोत्सव आयोजना भइरहेको र भदौ ४ गतेसम्म उक्त पूजन हुने महायज्ञका गुरु दीपक सापकोटाले जानकारी दिए।

प्रकाशित: ३ भदौ २०८१ ११:०३ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast