बीपी कोइराला अस्पतालकी लेखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ३१ साउन २०८१ १८:४९ | Thursday, August 15, 2024
बीपी कोइराला अस्पतालकी लेखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेकी बीपी कोइराला मेमोरियल अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले कोइरालाविरूद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

औषधि आपूर्तिको बिल भुक्तानी दिन सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

कोइरालाले सेवाग्रहीबाट नगद १ लाख ५० हजार र रू. ४ लाख ५० हजारको चेक लिइरहेको अवस्थामा पक्राउ परेकी थिइन्।
उनले सेवाग्रहीबाट ६ लाख घुस लिएको पुष्टि भएको बताउँदै सोही रकम बिगो कायम गरी बिगोबमोजिमको जरिवाना र कैद सजाय हुन अख्तियारले मागदाबी लिएको छ।

त्यस्तै लेखाअधिकृत कोइरालाले सेवाग्रहीसँग ४४ हजार र १ लाख ४० हजार लिएको पनि पाइएको अख्तियारले जनाएको छ। सापटी लिएको उल्लेख गरे पनि दुई वर्ष बितिसक्दासमेत फिर्ता गरेको नदेखिएको अख्तियारको भनाइ छ।

आफू बहाल रहेको पदअनुसार सम्पादन गर्नुपर्ने कामसँग सम्बन्धित सेवाग्रहीबाट व्यवसायिक आचरणविपरित सापटी लिएको पुष्टि भएकाले कोइरालाविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५(१) बमोजिमको कसुरमा समेत मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

प्रकाशित: ३१ साउन २०८१ १८:४९ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast