 
                             
                                            काठमाडौँ- बंगलादेशमा गठन हुन लागेको अन्तरिम सरकारका मुख्य सल्लाहकारका रूपमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक मुहम्मद युनुसको नाम सिफारिस गरिएको छ। आरक्षणविरोधी विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि देशको नेतृत्व लिन युनुसको नाम सिफारिस गरेका हुन्।
नाहिदले प्राध्यापक युनुसको नेतृत्वमा चाँडै अन्तरिम सरकार गठन गर्न राष्ट्रपतिसँग आग्रह गरेका छन्। बंगलादेशमा आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेता नाहिदले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै सरकारको नेतृत्वका लागि नोबेल पुरस्कार विजेता युनुसको नाम सिफारिस गरेका हुन्।
अन्तरिम सरकारको नेतृत्व लिने विषयमा प्राध्यापक युनुससँग आफ्नो कुराकानी भइसकेको नाहिदले जनाएका छन्। ‘हामीले मोहम्मद युुनुससँग कुरा गरेका छौं। उहाँ विद्यार्थीहरूको अपिलपछि बंगलादेशका लागि महत्वपूर्ण जिम्मेवारी लिन तयार भइसकेका छन्।’
आन्दोलनरत विद्यार्थीहरूले अन्तरिम सरकारका अन्य सदस्यहरूको नाम पनि चाँडै घोषणा गरिने बताएका छन्। विद्यार्थी र नागरिकबाट समर्थनप्राप्त सरकार नबनेसम्म आफूहरूले समर्थन नगर्न नाहिदले सोमबार पत्रकार सम्मेलनमा बताएका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 