दक्षिणकाली नगरपालिका-२ पिनखेलका दीपक थापा आफ्नो नासपातीको बोटसँगै। तस्बिर : हिमालप्रेस
काठमाडौँ- अघिल्लो बुधबार दक्षिणकाली नगरपालिका-२ पिनखेलका दीपक थापा राजमार्गको टहरामा नासपाती बेच्दै गरेको भेटिए। बारीमा उत्पादित नासपाती उनले काठमाडौँ-हेटौँडा सडकको टहरामा बेच्न राखेका थिए। स्थानीय तहले किसानलाई आफ्ना उत्पादन बेच्न राजमार्गछेउमा टहरा बनाइदिएको छ। त्यही टहरामा आमासँगै नासपाती बेच्दै गरेका थापाले सामान्य कुराकानी गरेपछि नजिकैको आफ्नो नासपाती बगानमा लगे।
थापाले साढे सात रोपनी जग्गामा करिब ८०-९० बोट नासपाती खेती लगाएका रहेछन्। उनले नासपाती किसानले भोग्नुपर्ने समस्या, बजारको अवस्था, बिचौलिया व्यापारीबाट किसान ठगिएको र किसानले कृषि क्षेत्रमा भोग्नुपरेका समस्या सुनाए।
रसायनविज्ञानमा स्नातकोत्तर थापा बुबाआमालाई खेतीपातीमा सहयोग गर्दै अध्यापन पेसामा पनि संलग्न छन्। उनी निजी विद्यालय र गुम्बामा ट्युसन पढाउँछन्। बिहान निजी विद्यालयमा पढाएर फर्किएका थापा राजमार्गको टहरामा व्यस्त हुन्छन्। दुई बजेपछि फर्पिङमै रहेका गुम्बामा पढाउन पुग्छन्।
थापाले वार्षिक साढे २ लाख रुपैयाँको नासपाती बिक्री गर्दै आएका छन्। ‘मौसमले साथ दिए, चरा र किरा नलागे वार्षिक साढे २ लाखको नासपाती व्यापार हुन्छ’, उनले भने।
थापाका बुबाले सात वर्षअगाडि छैमलेबाट उन्नत जातका बेर्ना ल्याएर नासपाती खेती सुरु गरेका थिए। नासपाती खेती नयाँ प्रविधिअनुसार नगरिएको थापा बताउँछन्।
किसानले सडकमै आफ्नो उत्पादन बेच्न थालेपछि वडाले एउटा टहरा बनाएर सहयोग गरेको छ। उनी मात्र होइन पिनखेलका करिब डेढ सय किसानले आफ्नो उत्पादन दक्षिणकाली नगरपालिका-२ ले व्यापारका लागि निर्माण गरेको टहराबाटै बेच्छन्।
सरकारले कृषिको बिउ भूगोलअनुसार उत्पादन नगर्दा किसान परम्परागत खेती गर्न बाध्य रहेको उनले बताए। सरकारले कृषिमा लगानी नगरेसम्म देशको आर्थिक प्रगति नहुने उनको दाबी छ। सरकारले गाउँगाउँमा सिंहदरबार भन्ने अभियान ल्याए पनि व्यावहारिक नदेखिएको उनले बताए। उनले भने, ‘किसान आमजनताले यसको अनुभव गर्न पाएका छैनन्।’
थापाले दुई वर्षयता बिचौलिया व्यापारीलाई नासपाती बेच्न छाडेका छन्। कोरोना महामारीका बेला बारीमा उत्पादन भएको साढे छ सय क्रेट नासपाती ३० हजारमा बेच्नुपरेको बाध्यता उनी सुनाउँछन्।
वैदेशिक रोजगारीमा युवा जाने क्रम बढेका छन्। केही वर्षपछि वडाले बनाइदिएको टहरामा कृषि उत्पादन बिक्री गर्ने किसान नपाइने अवस्था आउने चिन्ता थापालाई छ। वडाले ५-६ लाख लगानी गरेर किसानलाई उत्पादन बेच्ने टहरा बनाएर सहजीकरण गरेको छ। ‘नेपालको सबैभन्दा ठूलो हिरो किसान हुन्। मेरै बुबा-आमाले कृषिलाई मात्र होइन, आफ्नो जमिनको माटोलाई पनि यति माया गर्नुहुन्छ कि काम गर्दा पैताला फुटेको थाहा पाउनुहुन्न’, उनी भन्छन्।
थापाले अहिलेसम्म सरकारसँग अनुदान लिएका छैनन्। अनुदान वास्तविक किसानले नभई पहुँचका आधारमा केही व्यक्तिले लिएका छन्। बाँझो जमिन देखाएर लिएको अनुदान ब्याज, घरजग्गा र अन्य क्षेत्रमा लगानी भइरहेको थापाको गुनासो छ।
मौसमले साथ दिए एउटा बोटबाट ८-९ क्रेट नासपाती उत्पादन हुन्छ। ९-१० रोपनीमा सय बोट नासपाती खेती गर्न सकिन्छ। यसका लागि २५ देखि ३० हजार रुपैयाँसम्म लगानी हुने थापाले बताए। एउटा नासपातीको बेर्ना १० देखि १५ रुपैयाँमा पाइने थापाले जानकारी दिए। ‘नासपाती खेती गर्दा अन्य खेतीमा जस्तो लगानी बढी हुँदैन। सामान्य लगानीमा पनि नासपाती खेती गर्न सकिन्छ’, उनले भने।
दक्षिणकाली नगरपालिकाले बागमती सरकारको सहयोगमा किसानलाई नासपातीको बेर्ना उत्पादन, किरा मार्ने औषधि वितरण र प्रविधिक तालिम दिँदै आएको छ। नगरपालिकाका प्रवक्ता अमृका बलामी नासपाती खेतीका लागि प्रदेश सरकारले गत चालु आवमा नगरपालिकालाई ५ लाख रुपैयाँ छुट्याएको बताउँछन्। यो रकमबाट बजेट बेर्ना उत्पादन र वितरण गर्दै आएको जानकारी बलामीले दिए। उनले भने, ‘नगरपालिकाले नासपाती पकेट क्षेत्र फर्पिङमा बेर्ना उत्पादन र वितरण गर्दै आएको छ।’
उनका अनुसार फर्पिङमा उत्पादित नासपाती बागमती प्रदेशका विभिन्न ठाउँमा बिक्री हुन्छ। नगरपालिकाले किसानलाई कृषिजन्य उत्पादन सामग्री बिक्री गर्न टहरा बनाइदिएको छ। बलामीले दक्षिणकाली नगरपालिकामा वार्षिक सात करोडभन्दा बढीको नासपाती व्यापार हुने गरेको बताए।
नगरपालिकाका छैमले, दक्षिणकाली, शेषनारायण, टल्कु, सेतीदेवीमा बढी नासपाती उत्पादन हुन्छ। यी क्षेत्रमा उत्पादन भएका नासपाती मौसममा उत्पादनमा बढी माग र व्यापार हुन्छ। दक्षिणकालीको फर्पिङ नासपातीका लागि प्रसिद्ध ठाउँ हो।




