 
                             
                                            पोखरा- नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको गठबन्धन धेरै परसम्म नजाने ठोकुवा गरेका छन्। पोखरामा दुई दिनसम्म आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकलाई सोमबार समापन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यो गठबन्धन लामो समयसम्म नजाने र उनीहरू (कांग्रेस–एमाले) आफूहरूलाई खोज्दै आउने बताएका हुन्। सरकारमा जानेभन्दा पनि अहिलेको आफूहरूको प्राथमिकता जनतामा जाने, पार्टी बनाउने र विचार निर्माणमा केन्द्रित रहेको बैठकमा ब्रिफिङ गरेको एक नेताले बताए।
प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै देश नयाँ ढंगले अगाडि बढेको पनि बताए। उक्त विधेयक पारित भएसँगै सहिद, बेपत्ता योद्धा परिवारलाई सम्मान एवं परिपूरण गर्ने ढोका खुलेको उनको भनाइ थियो।
उनले विधेयकमार्फत जनयुद्धको समयमा सहादत प्राप्त गर्ने व्यक्तिहरू राष्ट्रिय सहिदको दर्जामा पुगेकोमा खुसी व्यक्त गर्दै अब पार्टीको प्राथमिकता संगठन निर्माण तथा विचारको विकास भएकोमा जोड दिएका छन्।
प्रचण्डले गरिब जनताको पक्षमा कार्य गर्न नेता कार्यकर्तालाई निर्देशन दिँदै त्यसले नै समाजवादी क्रान्तिको वास्तविक आधार तयार गर्न निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र अहिलेका उपलब्धिको रक्षा अन्य पार्टीबाट सम्भव नरहेको दाबी गरे। उनले भने, ‘अहिले समाजवादी क्रान्तिका लागि वस्तुगत आधार तयार भएको छ। त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो।’
यस्तै उनले पार्टीनिकट प्रेस सेन्टरका पोखराका पत्रकारसहित इञ्जिनियरको टोलीसँग पनि छुट्टै भेट गरेका छन्। प्रेस सेन्टरका पत्रकारलाई पत्रकार महासंघको आसन्न चुनावमा प्रेस युनियनसँग मिलेर जाने कोसिसमा लाग्न प्रचण्डले सुझाएको एक पत्रकारले बताए। यो गठबन्धन धेरै नजाने भएकोले युनियनसँग अलि बढी जोड गर्न उनको आग्रह थियो।
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, दीननाथ शर्मालगायतले सम्बोधन गरेका थिए। बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७४ जना सहभागी थिए।
गत ३१ साउनमा सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारी सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार गण्डकीको बैठक बसेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले बताइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 