 
                             
                                            काठमाडौँ- नेपाली गीत संगीतमा छुट्टै पहिचान बनाएको नेपालकै चर्चित लोक रक समुह ‘नेपथ्य’ले ३० अगस्टमा न्यूयोर्कको म्यानह्याटनस्थित टर्मिनल फाइभमा कार्यक्रम गर्दैछ।
आयोजक याक प्रोडक्सन, डिजे रित र इसेन्स स्माइल्सले तीन हजार दर्शक अटाउने क्षमता भएको टर्मिनल फाइभमा नेपथ्यको सांगीतिक कार्यक्रम गर्न लागेको हो। उपत्यकामा पत्रकार सम्मेलन गर्दै नेपथ्यको ऐतिहासिक साँझको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले जानकारी दिएको छ।
टर्मिनल फाइभमा राती ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएको छ। कार्यक्रमस्थलमा नेपाली खानाको स्टलसमेत हुने छ।इसेन्स स्माइल्सकी डा. सुलोचना गुरुङका अनुसार कार्यक्रममा १६ वर्ष मुनिका बालबालिबालाई निशुल्क प्रवेश छ।
त्यसअनुसार कार्यक्रममा अभिभावकले आफ्नो सन्तान लिएर जान पाउनेछन। ‘परिवारका सबै सदस्यले मनोरञ्जन लिन सकुन् भनेर १६ वर्ष मुनिकालाई फ्री इन्ट्रीको व्यवस्था गरेका छौँ,’ इसेन्स स्माइल्सकी डा. सुलोचना गुरुङले भनिन्, ‘तपाईँहरूले आफूसँग १६ वर्ष मुनिका परिवारका सदस्य लिएर आउन सक्नुहुन्छ र परिवारसँगै मनोरञ्जन गर्नसक्नु हुनेछ।’
टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्युआर कोड स्क्यान वा गुगल सर्च गर्नुपर्ने छ। साथै, टर्मिनल फाइभको वेबसाइट वा गुगल सर्च गर्न सकिनेछ।ऐतिहासिक साँझ कार्यक्रमको टिकट समेत करिब ७० प्रतिशत बिक्री भइसकेको आयोजकले जनाएको छ।
कार्यक्रममा याक प्रोडक्नसकी छोमो डसेलले नेपथ्यजस्तो ‘लिजेन्डरी ब्याण्ड’ लाई टर्मिनल फाइभ जस्तो ठुलो ‘भेन्यू’ मा प्रस्तुत गर्न पाउँदा गर्न गर्व लागेको बताइन्। नेपथ्यलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा आफूलाई एकदमै खुशी र गर्व लागेका बताउँदै कार्यक्रममा उपस्थित भई नेपाली संगीतलाई माया गरिदनु अनुरोध गरिन्।
नेपाली श्रोता र दर्शकहरुबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्नेछ। म्युजिकल टुरमा अमेरिकामा रहेको नेपथ्य समूहले ३ वटा सहरमा आफ्नो प्रस्तुति दिइसकेको छ।
म्युजिकल टुर ३ अगस्टदेखि कोलोराडो बोल्डर थियटरबाट सुरु भएको थियो। नेपथ्यले सान फ्रान्सिस्कोको द वारफिल्ड, ओहायोको केम्बा लाइभमा प्रस्तुति दिइसकेको छ।
नेपथ्यले बेलायतको वेम्ब्ली स्टेडियमलगायत विदेशका ६५ तथा स्वदेशमा ५० बढी स्थानमा कन्सर्ट गरिसकेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![बालबालिकाका लागि नयाँ गीत ‘हामी साना कोपिला’ सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/03/child-song.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 