नेपालले भारतसँग माग्यो थप हवाई रुट

हिमाल प्रेस २८ साउन २०८१ १४:५३ | Monday, August 12, 2024
नेपालले भारतसँग माग्यो थप हवाई रुट

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले सोमबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा उक्त भेटवार्ता भएको हो।

त्यसक्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायत विषयमा छलफल भएको थियो। वार्ताका क्रममा मन्त्री डा. राणाले नेपाल-भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका निम्ति सचिव मिश्रीमार्फत भारतसँग कुरा राखिन्।

उनले नेपाल-भारतका सीमाक्षेत्र हुँदै आयात गरिने तरकारी र फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका निम्ति प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा राखिन्।

त्यसक्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा समेत उनले विषय उठान गरिन्। यसका धेरैजसो समस्या समाधान भइसकेको र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल गरिएको थियो।

यस्तै, उनले टनकपुर बाँधको नहरमा पानी छोड्न, वाणगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिश्रीमार्फत भारत सरकारसँग कुरा राखिन्। उनले दार्चुलाको पुल उद्घाटनबारे पनि प्रसंग उठाएकी थिइन्।

मन्त्री डा. राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिइनुपर्ने पनि बताइन्। जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका निम्ति भारत सरकारको सहयोगप्रति उनले धन्यवाद ज्ञापन समेत गरेकी परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ।

प्रकाशित: २८ साउन २०८१ १४:५३ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast