दोरम्बा पहिरो : मृत्यु हुनेको संख्या आठ पुग्यो

हिमाल प्रेस १२ भदौ २०८१ ११:३७ | Wednesday, August 28, 2024
दोरम्बा पहिरो : मृत्यु हुनेको संख्या आठ पुग्यो रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित लेखर्कमा आइतबार गएको पहिरो। तस्बिर सौजन्य : नेपाली सेना

रामेछाप- दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको स‌ंख्या आठ पुगेको छ। आइतबार बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मंगलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताएका छन्।

उनका अनुसार मंगलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग सोधपुछ गरिएको थियो। नङ पालिस लगाएको बांगो औँलाका आधारमा आफ्नी हराइरहेकी पत्नी बिन्दा पहरीको भएको उनका पति कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको सिंहले बताए।

गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छजनाको शव सोही दिन निकालिएको थियो। त्यसपछि एकको शव र मंगलबार एकजनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको संख्या आठ पुगेको हो।

उक्त पहिरोमा परी हराइरहेका सोही वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। पहिरोमा परी सो वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी शव आइतबार नै फेला पारी परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए। रासस

प्रकाशित: १२ भदौ २०८१ ११:३७ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast