 
                             
                                            कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष। उनले तन्नेरीझैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा ३० हजार बढी आम्दानी गर्दै आएका छन्। बजारमा सिमेन्ट राख्न प्रयोग भएका खाली बोरा खरिद गरी उनले त्यसको धागो निकाली त्यसबाटै डोरी बाट्ने गरेका छन्।
डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन्। एउटै डोरी दुई सयदेखि पाँच सय सम्ममा बिक्री हुने गरेको छ। ‘घरमै बसेर डोरी तयार गर्छौं,’ उनले भने, ‘तयार भएको डोरी काँधमा बोक्दै गाउँगाउँ पुर्याएर बिक्री गर्दै आएको छु।’
दैनिक एक हजार जतिको डोरी बिक्री हुने गरेको उनी बताउँछन्। डोरी बेच्नकै लागि बिहानीको खाना खाएर गाउँ चहार्दै हिँड्ने राना साँझ अबेर मात्रै घर फर्कने गर्दछन्। डोरीमा रानाले छड्की, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथ लगायत बनाउने गर्दछन्।
सबैभन्दा बढी बिक्री हुने डोरीमा छड्की रहेको छ। गाई गोरु बाँध्नका लागि प्रयोग हुने छड्कीको ग्राहकले बढी माग गर्ने रानाले बताए। डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन।
‘धेरै परिवार हुँदा आर्थिक अभाव सधैँ भइरहन्थ्यो’ उनले भने, ‘त्यही भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हुँदैनथ्यो, गोठालो जान्थे, अरुले डोरी बनाएको देखेर त्यसबाटै सिकेँ। पहिला बाबियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो। खेतबारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे। जबदेखि बजारमा प्लास्टिकका डोरी आए त्यसपछि किसानले जुट र सनपाटको खेती गर्ने कार्य छाडेँ।’ जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लास्टिकका बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उनी बताउँछन्।
व्यावसायिक रुपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेरपछि गर्न थालेको उनको भनाइ छ। घरमा कोही बिरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उनले सहयोग गर्छन्। विवाह गरेको दुई वर्षमै श्रीमतीको देहावसान भएपछि रानाले दोस्रो विवाह भने गरेका छैनन्। जेठो दाजुको घरमा उनी बस्दै आएका छन्।
डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएका छन्। ‘मोटरसाइकल किन्न थोरै रकम मैले जुटाएँ’ डुठ्ठा रानाले भने, ‘दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले व्यहोरे।’
परिवारलाई आवश्यकता परेका बेला उनले आर्थिक सहयोग गर्दा नै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ छ। ‘घरमा ठूलो काम गर्दा लाग्ने पैसा उहाँले नै दिनुहुन्छ,’ उनले भने, ‘स–सानो काममा भने पैसा दिन कञ्जुस्याइँ गर्नुहुन्छ। उमेर छँदा डोरी बेचेर महिनामै ५०/६० हजारसम्म पनि कमाउँथे, उमेर ढल्किँदै जाँदा कमाई पनि घटेको छ।’
घर खर्चसँगै आफूलाई आवश्यक भएको लुगाफाटो, जुत्ता, चप्पल, औषधपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आएका छन्। आफूलाई चाहिने खर्च अरूसँग मागेको अहिलेसम्म नदेखेको डुठ्ठा बताउँछन्।
‘हामीले आपतविपत परेका बेला उहाँसँग पैसा माग्छौँ। उहाँले अहिलेसम्म हामीसँग पैसा माग्नुभएको छैन’ उनी भन्छन्। पूर्व वडाअध्यक्ष जगता राना पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफूले बन्धुलाई चिनेको बताउँछन्। उनी भन्छन् ,’व्यावसायिक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरुले सिक्नुपर्ने हुन्छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 