काठमाडौँ- हास्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ नजिकिँदै गर्दा यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरू भएको छ। यसैक्रममा प्रहसन र व्यङ्ग्यात्मक प्रस्तुतीमार्फत २०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामू पस्किरहेका जोगिन्दर उपनामले परिचित हास्यकलाकार शिवशंकर रिजालले नयाँ कोसेली ‘ठगाठग कम्पनी’ सार्वजनिक गरेका छन्। यसमा उनकै लेखन, निर्माण तथा निर्देशन रहेको छ।
गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसंगतिमाथि व्यङ्ग्य प्रहार गर्दै आफ्नो बाइसौँ गाईजात्रे कोसेली तयार गरेको हास्यकलाकार रिजालले जानकारी दिए।
‘विशुद्ध मनोरञ्जन दिने र विकृति विसंगतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले मैले कलाकारिता सुरु गरेदेखि नै हरेक वर्ष गाईजात्राको अवसरमा कोसेली ल्याउने गरेको छु। भूकम्प र कोरोना महामारीका वर्षमा भने निरन्तरता दिन सकिएन। राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसंगतिदेखि, फेसन र ग्ल्यामरसम्मका विकृतिलाई व्यङ्ग्य गर्ने गरेको छु,’ उनले भने।
क्यासेट, भिसिडी, सिडी हुँदै अहिले प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै ‘ठगाठग कम्पनी’ युट्युबमा सार्वजनिक गरिएको हास्यकलाकार रिजालले जानकारी दिए।
यसमा उनीसँगै राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, सिला उप्रेती, सोनम शेर्पा, वीजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, प्रेम शर्मा पौडेल लगायतका कलाकारले अभिनय गरेका छन्। रिजालका अनुसार यस प्रस्तुतिमा प्यारोडी गीत समावेश गरिएको छ।
देशका विभिन्न क्षेत्र विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ। गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हास्यव्यङ्ग्यका कार्यक्रम र प्रस्तुति प्रस्तुत गर्ने परम्परा छ। यस वर्ष आगामी भदौ ४ गते गाईजात्रा पर्व परेको छ।



