फाइल तस्बिर।
काठमाडाैँ- जलवायु परिवर्तनले चक्रवात ‘गेमी’ को हावा र वर्षालाई थप शक्तिशाली बनाएकाले यस वर्षको सुरुमा फिलिपिन्स, ताइवानलगायत चीनमा दर्जनौं मानिसहरूको ज्यान गएको मौसमविद्हरूले जनाएका छन् ।
‘गेमी’ ले गत जुलाईमा फिलिपिन्समा बाढी र पहिरो निम्त्याउँदा कम्तिमा ४० जनाको ज्यान लिएको र त्यसपछि ताइवान र चीनमा अवतरण भएको थियो।
चीनमा, मौसम प्रणालीका कारण भएको भारी वर्षाले ५० जनाको ज्यान लिनुका साथै तीन लाखलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन्।
मौसमी घटनाहरूमा जलवायु परिवर्तनको भूमिकाको मूल्यांकन गर्न सहकर्मी–समीक्षा विधिको नेतृत्व गर्ने ‘वर्ल्ड वेदर एट्रिब्युसन (डब्ल्युडब्लुए)’ ले चक्रवातबाट बढी प्रभावित फिलिपिन्स, ताइवान र चीनको अनुगमन गरेको छ।
डब्ल्युडब्लुएले मानव निर्मित जलवायु परिवर्तनका कारणले हावाको गति सात प्रतिशत वृद्धि भएको तथा वर्षा पनि बढेको निश्कर्ष निकालेको थियो।
‘इम्पेरियल कलेज लन्डन’को ‘ग्रान्थम इन्स्टिच्युट–क्लाइमेट चेन्ज एन्ड द इन्भाइरनमेन्ट’ का निर्देशक राल्फ तौमीललाई उदृत गर्दै अध्ययनले तातो समुद्र र वातावरणले अधिक शक्तिशाली र लामो समयसम्म टिक्ने र घातक चक्रवातलाई जन्म दिइरहेको जनाएको छ।
मौसमसम्बन्धी अनुसन्धानकर्ताहरूले इम्पेरियल कलेज लन्डनद्वारा विकसित नयाँ दृष्टिकोणको प्रयोग गरी उष्ण आँधीबेहरीका सम्बन्धमा अध्ययन गरेका थिए।
यो विधिले उष्णकटिबन्धीय चक्रवातलाई पार गर्न कम्प्युटर मोडलिङ प्रयोग गर्दछ।
एसिया–प्रशान्त क्षेत्रले लामो समयदेखि चक्रवातसँग जुधिरहेको बेला, वैज्ञानिकहरूले ‘चक्रवातको अन्तर र गेमीले निम्त्याएको प्रभाव’ लाई थप व्याख्या गरेका छन्।
वैज्ञानिकहरूले बाढी व्यवस्थापन र सतर्कता अपनाउन आग्रह गर्दै आँधीको सम्भावित प्रभावबारेमा थप जानकारी प्रदान गरेका छन्।
चक्रवात ‘सानसान’ ले जापानमा अवतरण गरेपछि यो अध्ययन रिपोर्ट जारी गरिएको हो। -रासस




