जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री दाहाल

हिमाल प्रेस १४ भदौ २०८१ १९:५३ | Friday, August 30, 2024
जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री दाहाल फाइल तस्बिर

दमौली– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनताका आशा र अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री दाहालले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएपछि जनतामा आशा बढेको बताए। उनले भने, ‘अहिलेको गठबन्धन सरकारसँग जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व छ। हामी त्यसमा प्रतिबद्ध छौँ। हामी कोही पनि निराशा नभइ सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

मन्त्री दाहालले तनहुँ जिल्ला कमिटीबाट विभिन्न योजनामा माग भएको बजेटको सन्दर्भमा आफूले गर्न सक्ने सहयोगका लागि प्रतिबद्धता जनाए। उनले भने, ‘यो वर्षको बजेट विनियोजन भइसकेकाले बजेट परिमार्जन भएमा तपाईँहरूले भनेअनुसार र परिमार्जन नभए केही न केही सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछु।’

फरक प्रसङ्गमा मन्त्री दाहालले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने बताए। एमालेलाई देशको प्रमुख शक्तिका रुपमा निर्माण गर्न सबै कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ थियो।

त्यस अवसरमा एमाले तनहुँका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र सचिव प्रदीपराज अधिकारीले जिल्लाका विभिन्न महत्वपूर्ण योजनामा बजेट विनियोजन गरिदिन आग्रहसहित मन्त्री दाहाललाई मागपत्र बुझाएका थिए।

प्रकाशित: १४ भदौ २०८१ १९:५३ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast