घोरेपानीबाट हराएका दुई स्पेनीमध्ये एकजनाको शव भेटियो

हिमाल प्रेस ११ भदौ २०८१ १६:५९ | Tuesday, August 27, 2024
घोरेपानीबाट हराएका दुई स्पेनीमध्ये एकजनाको शव भेटियो घोरेपानी। फाइल तस्बिर

पोखरा- अन्नपूर्ण पदमार्गअन्तर्गतको पर्यटकीयस्थल घोरेपानी पदयात्राक्रममा बेपत्ता दुई जना पर्यटकमध्ये एकजनाको शव फेला परेको छ। उनीहरू दुवै स्पेनका नागरिक भएको पाइएको छ।

आइतबार उल्लेरी हुँदै घोरेपानी जानेक्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट स्पेनी नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी हराएका थिए। तीमध्ये पुरुष इरिक कासानोभास मंगलबार मृत फेला परेका हुन्। महिला अझै बेपत्ता छिन्। उनको खोजी जारी छ।

अन्नपूर्ण ९, तिखेढुंगास्थित भुरुङदी खोलाको पुल नजिकै बटुवाले पर्यटकका दुई झोला, मोबाइल, टोपी, टिसर्टलगायत कपडा एवं टे«किङका सामान देखेपछि स्थानीयलाई खबर गरेका थिए।

उनीहरूको २ दिनसम्म खोजीकार्य भएकोमा नभेटिएपछि मौजा खोलामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको थियो। टोलीले झोलासहितको सामान भेटिएको स्थानभन्दा करिब डेढ किमी तल पुरुषको शव फेला पारेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए।

उनीहरूले आइतबार वीरेठाँटीमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोस्टमा घोरेपानी जान लागेको भनी नाम दर्ता गराएको वीरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले जानकारी दिए।

प्रकाशित: ११ भदौ २०८१ १६:५९ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast