कर्णालीका सहायक नदीमा देखिन थाले डल्फिन

हिमाल प्रेस २७ साउन २०८१ २१:४२ | Sunday, August 11, 2024
कर्णालीका सहायक नदीमा देखिन थाले डल्फिन

घोडाघोडी (कैलाली)- कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन्। जिल्लाको टीकापुर नगरपालिका–६, ७, ८ र भजनी नगरपालिका–३, ५, ७, ८ का नदि तटिय क्षेत्रमा डल्फिन देखिन थालेका डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार उक्त पालिकामा पर्ने मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिन थालेका हुन्। यहाँ वयस्क, माउ डल्फिनसँगै बच्चा पनि देखिन थालेका छन्। भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गरेको उनले बताए।

यसरी तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्ने गर्छन्। मनसुन बाहिरिएसँगै डल्फिन पनि कर्णाली नदीमा नै फर्कने गरेको उनको भनाइछ।

यी नदी क्षेत्रमा डल्फिनको मुख्य आहारा माछा, घोँगीका साथै लेऊ प्रशस्त पाइने भएकाले पनि हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका जानकारहरू बताउँछन्। स्वच्छ जल, प्रशस्त आहारा र धेरै दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने गरेका संरक्षणकर्मी श्रेष्ठ बताउँछन्। यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाइने गरेको जानकारहरू बताउँछन्। डल्फिन देखिन थालेसँगै पर्यटकहरू अवलोकनका लागि दिनहुँजसो यस क्षेत्रमा पुग्न थालेका छन्।

संरक्षणकर्मी भोजराज ढुुंगाना हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै पर्यटकको चहलपहल बढ्ने गरेको बताउँछन्। उनका अनुसार डल्फिन अवलोकनका लागि आन्तरिकसँगै भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिकालगायत तेस्रो मुलुकका नागरिकसमेत यहाँ आउने गरेका छन्। रासस

प्रकाशित: २७ साउन २०८१ २१:४२ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast