 आफ्नो तेस्रो कृति ‘नाकाबन्दी र भूराजनीति कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक कृतिबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस
                             आफ्नो तेस्रो कृति ‘नाकाबन्दी र भूराजनीति कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक कृतिबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस
                                            काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाको ‘नाकाबन्दी र भूराजनीति कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तक प्रकाशित हुने भएको छ। उक्त पुस्तक भदौ १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक गर्न लागिएको थापाले राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।
पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन्। पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए।
उक्त पुस्तक आत्मकथा नभएको पनि थापाले स्पष्ट पारे। उनले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिए।
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताए। लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री थिए।
थापाका यसअघि ‘कर्नेल छत्रबहादुर थापा : एक पटकको सैनिक जीवनभरको सैनिक’ र ‘द्वन्द्व व्यवस्थापन र चुनौती’ पुस्तक प्रकाशित छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 