नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल आइतबार काठमाडौँमा भएको पार्टीको केन्द्रीय कमिटी प्रथम पूर्ण बैठकमा पाटीको दसौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरु शपथग्रहण गराउँदै। तस्बिर : हरिराम भेटुवाल
काठमाडौँ– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको छ। बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनोनीत ती सदस्यलाई शपथ गराएका हुन्।
मंगलबारसम्म बस्ने बैठकमा पदाधिकारीको टुंगो लगाउन पूर्ण बैठक बसेको हो। पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारीलाई पूर्णता दिन लागिएको छ। पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय सदस्य छन्।
पोलिटब्युरो कमिटी र स्थायी समितिसमेत निर्माण गर्ने बैठकले केही नेताहरुको जिम्मेवारी हेरफेर गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए। बैठकमा केन्द्रीय संरचनाको निर्माण र विविध विषयमा छलफल गरिनेछ। पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ।
बैठकले क्लस्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्नेछ। पार्टीले युवा, दलित, जनजाति, अल्पसंख्क, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ। केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन्।



