आफूविरुद्ध नारा लागेपछि रिसाएका देउवाले भने : लाज नभएका, बकवासहरू

हिमाल प्रेस १० भदौ २०८१ १७:०२ | Monday, August 26, 2024
आफूविरुद्ध नारा लागेपछि रिसाएका देउवाले भने : लाज नभएका, बकवासहरू शेरबहादुर देउवा । फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौरा मनाउन टुँडिखेलमा जम्मा भएको भिडले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नारा लागेको छ।  आफूविरुद्ध नारा लगाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएका छन्।

शुभकामना दिन मन्चमा पुगेलगत्तै होहल्ला गरेपछि देउवाले ‘हल्ला गर्दै गर्नुस् म आफ्नो कुरा राख्छु’ भने। देउवाले यसो भनेसँगै भिडबाट हल्ला धेरै हुन थालेपछि देउवाले भने- लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरू, यही हो नेपालको संस्कृति? यही हो नेपालको चलन? यही सिकेर आएको ? बकवासहरू।’

​उनले गौरा पर्व बिथोल्नेहरूको घुसपैठ भएको आरोप लगाए। ‘यहाँ गौरा पर्व मनाउन आएकाहरू छन्। देउडा खेल्न आएका छन्। यहाँ न अरूको कुरा सुन्छन्। न देउडा खेल्न दिन्छन्। अरूको कार्यक्रम बिथोल्नेहरू छन्। त्यस्तालाई जनताले ठिक पार्नुपर्छ।’ देउवाले थपे।

भिडले आफूहरूलाई नेताहरू नचाहिने भन्दै मुर्दावादको नारा लगाएको थियो। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सुदूरपश्चिमको संस्कृतिलाई चिनाउन गौरा पर्व महत्वपूर्ण रहेको बताए।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत अतिथि थिए।

उता आफूविरुद्ध नारा लागेपछि देउवा रिसाए पनि प्रधानमन्त्री ओली भने नरम शैलीमै प्रस्तुत भए। प्रधानमन्त्री ओलीले गौरा पर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए। ‘समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुँदैनन्,’ उनले भने, ‘नेपाली पहिचान कसैले बिर्सन हुँदैन।’

नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको ओलीको भनाइ छ।

प्रकाशित: १० भदौ २०८१ १७:०२ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast