झण्डै २ घण्टा सेवाग्राहीको काम बिथोल्दै परराष्ट्रमन्त्री राणाले भनिन् : प्रचारबाजी होइन काम गर्न आएका हौँ

हिमाल प्रेस १६ साउन २०८१ २२:०९
178
SHARES
झण्डै २ घण्टा सेवाग्राहीको काम बिथोल्दै परराष्ट्रमन्त्री राणाले भनिन् : प्रचारबाजी होइन काम गर्न आएका हौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले करिब २ घण्टा सेवाग्राहीको कामलाई बिथोल्दै भनिन्- वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको हो। उनी परराष्ट्र मन्त्री भएर आएको दिनदेखि हरेक दिन नेपालमा भएका कूटनीतिज्ञ भेट्ने र संक्षिप्त ब्रिफिङ लिने अनि सामाजिक सञ्जालमा रंगीचंगी तस्बिर पोस्ट्याउने बाहेक खासै कुनै देखिने काम थालेकी छैनन्।

मन्त्रालयमा यो काम देखिने गरी गर्छु भन्ने पनि छैन। कुन राजदूतले कसरी काम गरेको छ, त्यो मुलुकको पत्रिकामा के लेखेका छन् त्यसतर्फ ध्यान छैन। अनि आम नागरिक लाइन बसेको र पासपोर्टमा परेको व्यथा बुझ्न भन्दै भएभरका सञ्चारमाध्यमलाई लाइन लगाएर त्यहीँ बोलाएकी छन्। एउटा सञ्चारमाध्यमले उनको सबै काम गरिदिने ठेक्का नै लिएको छ। अनि राससमा चिफ रिपोर्टरको जिम्मा लिएर काम गरिरहेका सक्रिय पत्रकारलाई आफ्नो सचिवालयमा ल्याएर राससमा करारमा कर्मचारी नियुक्त गर्नुपर्ने बनाएकी छन्।

अनि उनले भनेकी छन्,‘म प्रचार होइन काम गर्न आएकी हुँ। ’ काम गर्न आएकोले राससको चिफ रिपोर्टरलाई किन परराष्ट्रमा ल्याउने? अनि कुनै विभागको ब्रिफिङ लिए हुनेमा दुई घण्टा काम नै अवरोध हुने गरी त्यहाँ कार्यालय समयमा भिड नै लिएर किन जान पर्ने? बेलुकीपख छुट्टी हुने समयमा गए हुने वा विभागका प्रमुखलाई मन्त्रालयमा बोलाएर ब्रिफिङ लिए हुनेमा सबैलाई भेला गराएर भिडियो र तस्बिरमा पोज दिएर काम हुने हो कि प्रचार?

राहादानी र कन्सुलर सेवा विभागमा सबैजसो मिडियालाई निम्त्याएर सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमण गर्न आएको भन्दै उनले भनिन्, ‘वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ। यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो।’

सेवाग्राहीको बीचमा रहेर उनले नेपाली कांग्रेस र नेकपा एमाले यो देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका तथा दुवै दलका नेताहरूले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेको समेत भन्न भ्याइन्। तर त्यहाँ रहेका सेवाग्राहीले उनको कुरा सुने नसुने गरे।

आफैँ कार्यालय पुगेर काम बिथोल्ने र काममा ढिलासुस्ती गर्ने तथा नागरिकलाई डेलिभरी दिने काममा ढिला गर्ने छुट सरकार र कर्मचारी कसैलाई नभएको पनि उनै बताउने। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जसले आफ्नाविरुद्ध बयान दियो भनेर दुष्प्रचार गरियो उसैले पछि मलाई चिन्दिनँ भनेको प्रसंग उल्लेख गर्दै अनावश्यक रूपले आफ्नो नाम जोड्न लगाइएको भन्दै सफाइ दिने स्थान पनि कन्सुलर र पासपोर्ट विभाग नै छानिन्।

मन्त्री डा. राणाले राहदानी र कन्सुलर सेवा प्रवाहको अध्ययन गरी यी दुवै सेवा नेपाली नागरिकका लागि अति आवश्यक र परराष्ट्रले दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील सेवा रहेकाले नेपाली नागरिकलाई केन्द्रमा राखेर काम गर्न सबै कर्मचारीलाई निर्देशन दिइन्। तर उनले यसको डाटा के भएको छ? मूल्य कसरी महँगो भयो? किन अहिले विदेशमा रहेकालाई राहदानी दिन समस्या भएको छ? त्यो विषयमा खासै चासो राखिनन्। वा याद नै भएन।

प्रकाशित: १६ साउन २०८१ २२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =