वैदेशिक रोजगार बचतपत्र खरिदमा नयाँ योजना

रमेश भारती १६ साउन २०८१ २१:०९
34
SHARES
वैदेशिक रोजगार बचतपत्र खरिदमा नयाँ योजना

काठमाडौँ- वैदेशिक रोजगारीमा कार्यरत ९५ प्रतिशत कामदारले वैदेशिक रोजगार बचतपत्र खरिदका लागि चासो नदेखाएको पाइएको छ। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवर्द्धनका उपाय शीर्षकको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। बैंकले अब वैदेशिक रोजगारीमा संलग्न नेपालीको रुचि जगाउने गरी बचतपत्र सार्वजनिक गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको निष्कासन गर्न थालेको हो। वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न थालेको डेढ दशकसम्म पनि यस योजनाप्रति विदेशमा कार्यरत कामदारको आकर्षण नदेखिएपछि राष्ट्र बैंकले यसबारे अध्ययन गरेको थियो। प्रतिवेदनमा उल्लेख छ,‘वैदेशिक रोजगारीमा कार्यरत ९५ प्रतिशत कामदारले वैदेशिक रोजगार बचतपत्र खरिदका लागि चासो देखाएको पाइएन।’

विदेशमा कार्यरत कामदार मात्र होइन, विदेशमा बसोबास गर्दै आएका अन्य नेपालीले पनि वैदेशिक रोजगार बचतपत्र खरिदका लागि चासो नदिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

१३ वर्षमा राष्ट्र बैंकले २५ पटक बचतपत्र आह्वान गर्दा १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरेको थियो। यस अवधिमा आह्वान गरिएको बचतपत्र ४.९० प्रतिशत अर्थात् ७६ करोड २३ लाख रुपैयाँ मात्र बिक्री भएको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र बैंकले साढे एक खर्ब रुपैयाँ बराबारको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने लक्ष्य राखेको थियो।

बैंकले आह्वान गरेकोमध्ये ९५ प्रतिशतभन्दा बढी बचतपत्र बिक्री नभएको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म आह्वान भएको रकमको ४.९ प्रतिशतमात्र बिक्री भएका छन्। निष्कासित सबै वैदेशिक रोजगार बचतपत्रको अवधि पाँच वर्ष हुन्छ। त्यसपछि राष्ट्र बैंकले साँवाब्याज हिसाब गरेर बचतपत्रको रकम फिर्ता दिने गरेको छ।

देशबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने गरी राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको अवधारणा ल्याएको थियो। राष्ट्र बैंकका प्रवक्ता डा. रामु पौडेल पनि यस योजनामा वैदेशिक रोजगारीमा कार्यरत कामदारले चासो नदेखाएको स्वीकार्छन्।

राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ देखि पहिलो वर्ष १ अर्बको बचतपत्र आह्वान गरेको थियो। त्यसमध्ये ४० लाख बिक्री भएको बैंकको तथ्यांकमा छ। यस्तै दोस्रो वर्ष ५ अर्ब निष्कासन आह्वान भएकोमा ३३ लाख मात्र बिक्री भएको देखिन्छ। त्यसपछिका वर्षमा आह्वान ५० करोडभन्दा कम भएको बैंकको तथ्यांकमा छ। गैरआवासीय नेपाली नागरिक एवं वैदेशिक रोजगारीमा रहेका वा फर्किएको ६ महिना अवधि बिताएका नेपाली नागरिक र निजका एकाघर परिवारकाले यसमा लगानी गर्न पाउने व्यवस्था छ। यस्ता परिवारले समेत यस कार्यक्रममा चासो नदिएको बैंकको प्रतिवेदनमा उल्लेख छ।

बचतपत्रको परिचालन सुरुका वर्षदेखि नै अपेक्षित नभएको प्रवक्ता पौडेलले बताए। ‘राष्ट्र बैंकले आह्वान गरेको ९५ प्रतिशतभन्दा बढी वैदेशिक रोजगार बचतपत्र बिक्री भएन। यस योजनामा रेमिट्यान्स पठाउने कामदारले नै रुचि देखाएनन्’, उनले भने।

अब राष्ट्र बैंकले बचतपत्रका लागि नयाँ योजना ल्याएको छ। वैदेशिक रोजगार बचतपत्रमा रेमिट्यान्स पठाउने कामदारकै रुचि बढाउने गरी योजना ल्याइएको पौडेलले बताए। यसमा सबै कामदारलाई सूचित गराउने विषयलाई महत्त्वमा राखिएको छ।

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगार बचतपत्रको प्रचारप्रसारलाई विद्युतीय माध्यममार्फत तीव्रता दिइएको छ। बैंकले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गर्ने निर्णय गरेपछि रष्ट्रिय दैनिक पत्रिकाको अतिरिक्त बैंक तथा बिक्री एजेन्ट, गैरआवासीय नेपाली नागरिक, संघसंगठन, विदेश स्थित कूटनीतिक नियोगहरुको वेबसाइटमा सूचना प्रकाशन गर्न थालेको छ।

बचतपत्रको परिचय र खरिदबिक्री प्रक्रियालगायतको विवरण समावेश पुस्तिका राष्ट्र बैंकबाट प्रकाशन तथा वितरण गर्नुका साथै वेबपेजमा समेत राखिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २०५२ सालयता ५५ लाख २६ हजार नेपाली वैदेशिक रोजगारीको सिलसिलामा १ सय ७७ देशमा पुगेका छन्। तीमध्ये हाल ३५ लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ।

श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजाल विदेशमा कार्यरतमध्ये ९५ प्रतिशत नेपाली कामदारले वैदेशिक रोजगारी बचतपत्र खरिद नगर्नुको मुख्य कारण सूचना अभाव भएको बताउँछन्। उनका अनुसार वैदेशिक रोजगार बचतपत्र सरकारले ल्याएको राम्रो योजना भए पनि सूचना अभावमा यसको बिक्री नभएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =