माओवादीमा हरिबोलको विद्रोही प्रस्ताव : सबै पदाधिकारीले तत्कालै राजीनामा दिऊँ

हिमाल प्रेस १६ साउन २०८१ १५:४४
802
SHARES
माओवादीमा हरिबोलको विद्रोही प्रस्ताव : सबै पदाधिकारीले तत्कालै राजीनामा दिऊँ हरिबोल गजुरेल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीका सबै पदाधिकारीले तत्कालै पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव पेस गरेका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा गजुरेलले पार्टीका शीर्ष नेताबाटै पार्टीमा विधि उल्लंघन गर्ने काम भएको भन्दै यस्तो प्रस्ताव गरेका हुन्।

पार्टी पदाधिकारी बैठक (गत १४ गते) मा बोल्ने क्रममा उनले नेताहरूलाई पार्टीको विधान सम्झाएका हुन्। ‘पार्टीको आठौँ महाधिवेशनले पारित गरेको विधानअनुसार स्थायी कमिटीको एक तिहाईमात्रै पार्टीको पदाधिकारी बन्न पाउने व्यवस्था छ। अहिले हामी २१ जना छौँ, यो विधानविपरीत भयो’, उनले हिमालप्रेससँग भने, ‘मैले अहिले राजीनामा दिइसकेको छैन। तर मैले पार्टी विधानविपरीत भइरहेका गतिविधिको भार कसैले बोक्न हुँदैन, यसलाई सुधारौँ भनेको हुँ। अरू साथीहरूले राजीनामा दिनेबारे मौन रहनुभयो भने पनि मचाहिँ दिन्छु।’

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग राजीनामाका लागि अनुमति मागेको पनि बताए। राजीनामा प्रस्तावसँगै आफूले ६ वटा बुँदामा अन्य प्रस्ताव पनि पदाधिकारी बैठकमा पेस गरेको गजुरेलले बताए। अध्यक्ष दाहालले गजुरेलको प्रस्तावमाथि विषय प्रवेश नै गराएनन्।

दाहालले मंगलबार पदाधिकारी बैठकमा उठेको विषयमा जवाफ दिएका थिए। गजुरेल दाहाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए। तर उनले आफूसँग समन्वय नै नगर्ने र आफ्नो आवश्यकता नभएको गरिएको महसुस भएको भन्दै पदबाट राजीनामा बुझाएका थिए। माओवादी स्थायी कमिटी बैठक साउन २५ गते  बस्ने भएको छ।

प्रकाशित: १६ साउन २०८१ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =