खेती–किसानी

बढ्यो कुचो निर्यात

रमेश भारती १६ साउन २०८१ ७:५९
74
SHARES
बढ्यो कुचो निर्यात

काठमाडौँ- छ वर्षयता नेपाली अम्लिसोको कुचो निर्यात बढिरहेको छ। आर्थिक वर्ष २०७४/७५ यता नेपालबाट अम्लिसोको (कुचो) निर्यात बढेको भन्सार विभागको तथ्यांक छ। आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ३२ करोड ५२ लाख ५४ हजारको अम्लिसोको कुचो निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा एक अर्ब आठ करोड रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो।

आर्थिक वर्ष २०७४/७५ मा भारत र बंगलादेशमा गरी पाँच करोड २० लाख रुपैयाँ बराबरको अम्लिसोको कुचो निर्यात भएको थियो। यसैगरी आव वर्ष २०७५/७६ मा भारत र बंगलादेशमा कुल ४० करोड ५७ लाख ३० हजार कुचो निर्यात भएको विभागको तथ्यांक छ। आव २०७६/७७ मा बंगलादेश र भारतमा गरी ५५ करोड ७४ लाख मूल्य बराबारका कुचो निर्यात भएको थियो।

यस्तै, आव २०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार मूल्य बराबराको कुचो भारत र बंगलादेश निर्यात भएको थियो। २०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो।

विभागको तथ्यांकअनुसार दुई वर्षयता नेपाली अम्लिसो भारतमा मात्र व्यापार भइरहेको देखिन्छ। तीन वर्षअघिसम्म नेपाली अम्लिसोको कुचो बंगलादेश र भारतमा गरी बराबरी निर्यात भइरहेको थियो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर कार्कीले बंगलादेशमा कुचो निर्यातका लागि कूटनीतिक पहल भइरहेको बताउँछन्। उनले चीनमा पनि नेपाली चियासँगै कुचो निर्यातका लागि पहल भइरहेको बताए।

स्वदेशमा पनि कुचोको माग उच्च छ। नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीका अनुसार सरकारले अम्लिसो खेतीलाई प्राथमिकतामा नराख्दा कुचो उत्पादन र व्यवसायी ओझेलमा पर्न थालेको छ। गत आर्थिक वर्षमा मात्र एक अर्ब ३२ करोड ५२ लाख रुपैयाँभन्दा बढी कुचो भारत निर्यात भएको छ। यति धेरै मल्यको कुचो निर्यात हुँदा पनि अम्लिसोको चर्चा नभएको उनको गुनासो छ।

कुचो निर्यात बढे पनि उत्पादन वृद्धिमा सरकारले ध्यान नदिएको कार्कीको आरोप छ। ‘अम्लिसोको कुचो उत्पादन भएकै वर्ष बेच्नुपर्छ। पुरानो भयो भने गुणस्तरहीन हुन्छ। कहिलेकाहीँ सस्तो मूल्यमा कुचो बेच्नुपर्ने बाध्यता छ’, कार्कीले भने।

नेपालमा वार्षिक कति कुचो उत्पादन हुन्छ। यसको यकिन तथ्यांक कृषि मन्त्रालयसँग छैन। कुचो संघले गरेको विभिन्न अध्ययनमा वार्षिक एक लाख ८० हजार मेट्रिक टनभन्दा बढी अम्लिसोको कुचो उत्पादन हुन्छ। नेपालबाट वार्षिक करिब १४ हजार टन कुचो मात्र निर्यात भइरहेको भन्सार विभागको तथ्यांक छ।

संघका अनुसार १५ प्रतिशत कुचो स्वदेशमै खपत हुन्छ। गत आर्थिक वर्षमा १३ हजार पाँच सय ६२ टन अम्लिसोको कुचो निर्यात भएको थियो। भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षमा १३ हजार ९ सय ७८ टन कुचो निर्यात भएको थियो। ताप्लेजुङ, पाँचथर, इलाम, खोटाङ, भोजपुर, तेह्रथुम, झापा, सुनसरी, संखुवासभा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, लम्जुङ, स्याङ्जा र पाल्पामा अम्लिसो खेती हुन्छ। एक लाखभन्दा बढी घरपरिवार अम्लिसो खेतीमा निर्भर रहेको नेपाल कुचो संघका अध्यक्ष कार्कीले बताए।

प्रकाशित: १६ साउन २०८१ ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seven =