अरूका लागि बन्द गराएर आफूचाहिँ टिकटक चलाउँछन् यी नेता

रमेश भारती १५ साउन २०८१ १६:१७
172
SHARES
अरूका लागि बन्द गराएर आफूचाहिँ टिकटक चलाउँछन् यी नेता

काठमाडौँ- सरकारले कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सरकारले टिकटक बन्द गरे पनि यसको प्रयोग भइरहेको छ। बन्द गरिएको टिकटक चलाउनेमा नाम चलेका नेता र सांसद अगाडि छन्। उनीहरूले दैनिक गतिविधिका भिडियो क्लिप्सलाई टिकटकमा राख्दै आएका छन्।

टिकटकमा सक्रिय नेतामध्ये एक हुन् स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल। उनले पछिल्ला दिनमा टिकटकमा सक्रियता बढाएका छन्। पौडेलले विभिन्न गतिविधिदेखि सार्वजनिक कार्यक्रममा आफूले दिएका प्रस्तुतिको भिडियो माननीय स्वास्थ्यमन्त्रीका नाममा खोलिएको टिकटक एकाउन्टमा हेर्न पाइन्छ।

मन्त्री पौडेलले आइतबार बागमती प्रदेश ०१–००२झ ६५१७ नम्बरको गाडीबाट फोनमा कुराकानी गर्दै ओर्लिएको भिडियो टिकटकमा पोस्ट गरेका छन्। उक्त भिडियोमा उनी फोनमा कुराकानी गर्दै मन्त्रालयभित्र गएको देख्न सकिन्छ। पौडेलले मन्त्री भएयता सातवटाभन्दा बढी भिडियो टिकटकमा पोस्ट गरेका छन्।

टिकटकको प्रयोग गर्ने अर्का नेता हुन् कांग्रेस महामन्त्री गगनकुमार थापा। थापाले आफ्नै नामको टिकटक एकाउन्टमार्फत विभिन्न गतिविधिको भिडियो पोस्ट गर्दै आएका छन्। उनले एक महिनाअगाडि एक टेलिभिजन कार्यक्रममा दिएको अन्तरर्वार्ता टिकटकमा पोस्ट गरेका छन्।

टिकटकमा सक्रिय अर्का नेता हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही। शाहीले दुई दिनअगाडि एक टेलिभिजन कार्यक्रममा आफूले दिएको अन्तर्वार्ताको भिडियो पोस्ट गरेका छन्। उनले दुई महिना अन्तरमा एक दर्जनभन्दा बढी टिकटकमा भिडियो पोस्ट गरेको देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बृन्दा कठायतले पनि टिकटक चलाइरहेकी छन्। कठायतले विभिन्न गतिविधिमा बनाएका टिकटक पोस्ट गरेको हेर्ने पाइन्छ। उनले एक दिनअगाडि एक हिन्दी गीतमा बनाएको टिकटक पोस्ट गरेकी छन्।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आफ्नै नामको टिकटक एकाउन्ट चलाइरहेका छन्। खतिवडाले एक दिनअगाडि केही सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता उनकै टिकटक एकाउन्टमा पोस्ट गरेका छन्।

राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि टिकटकमा सक्रिय छन्। उनले दुई साताअघि टिकटकमा भिडियो पोस्ट गरेका छन्। प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि कुनै बेला टिकटकमा सक्रिय थिए। ओलीले अक्टोबर २०२३ देखि टिकटकमा भिडियो पोस्ट गरेका छैनन्। पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को टिकटक एकाउन्टमा अगस्ट २०२३ यता भिडियो पोस्ट गरिएको छैन।

बन्द भएको विषयमा मन्त्री अनभिज्ञ!

टिकटक बन्द भएको विषयमा स्वास्थ्य मन्त्री पौडेल अनभिज्ञ देखिए। मन्त्री पौडेलले भने, ‘मेरो टिकटक एकाउन्ट पहिलादेखि सचिवालयले चलाउँदै आएका थियो। अहिले पनि सचिवालयले चलाइरहेको छ।’ सचिवालयका साथीहरुले सूचनाका लागि टिकटक चलाएको हुन सक्ने र यस विषयमा सचिवालयसँग जानकारी लिने पौडेलले बताए।

कांग्रेस महामन्त्री थापाका स्वकीय सचिव सविन मुडबरी थापा टिकटकमा त्यति सक्रिय नभएको बताउँछन्। उनले भने, ‘उहाँले अहिले सक्रिय रूपमा टिकटक चलाउनुभएको छैन। कहिलेकाहीँ कसैले उहाँको टिकटक बनाएर भिडियो पोस्ट गर्दा रहेछन्।’ यस विषयमा महामन्त्री थापाले पनि चासो राख्दै आएको मुडबरीले बताए।

सांसद कठायतले आफूले टिकटक बनाएर पठाइदिएपछि साथीले अस्ट्रेलियाबाट पोस्ट गर्ने गरेको बताइन्। उनले एक दिनअगाडि मात्र टिकटकमा भिडियो पोस्ट गरेकी छन्।

विरोधमा थिए यी नेता

सरकारले २०८० कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय सरकारको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयको विरोध गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको टिप्पणी गरेका थिए। यसैगरी एमाले नेता विष्णु रिमालले पनि उक्त निर्णयको आलोचना गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले टिकटक बन्द गर्ने निर्णय ठिक नभएको भन्दै त्यसलाई सरकारले तुरुन्तै फिर्ता गर्नुपर्ने माग गरेका थिए। टिकटक बन्द गर्ने निर्णय पूर्ववर्ती प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला हो। अहिले नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्।

मुद्दा विचाराधीन

सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्न माग राखेर दायर गरिएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। सरकारलाई प्रतिवादी बनाई टिकटक प्रतिबन्ध गर्ने निर्णयविरुद्ध १४ वटा मुद्दा दायर भएका थिए।

सबै रिटलाई एकै स्थानमा समेटेको सर्वोच्चले ५ मंसिर २०८० का लागि पेसी तारेख तोकेको थियो। उक्त मितिमा न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी नहुने ठहर गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि दुई पटक पेसी तारेख तोकिएको भए पनि सुनुवाइ नगरी मुद्दा ‘हेर्न नभ्याइने’मा राखिएको थियो। २०८१ वैशाख २७ का लागि पेसी तोकिएको थियो। त्यस दिन पनि बहस हुन पाएन। अब आगामी असोज १० गतेका लागि पेसी तारेख तोकिएको छ ।

के भन्छ नियामक निकाय?

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको छ। सरकारमा सहभागी मन्त्री र संसद्ले टिकटक चलाइरहेको विषयमा प्राधिकरण बेखबर छ। नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले मन्त्री र संसद्ले टिकटक चलाएको विषयमा आफूलाई जानकारी नभएको बताए। सरकारले बन्द गरेको टिकटक कसरी मन्त्री र संसद्ले चलाइरहेका छन् भन्ने प्रश्नमा उनले भने, ‘यस विषयमा सोधखोज गर्नेछौँ। प्राविधिक टिमसँग पनि बुझ्नेछौँ।’

प्रकाशित: १५ साउन २०८१ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =