पार्टी फुट्ने त्रासमा माधव नेपाल

किरण पौडेल १५ साउन २०८१ १२:४०
2.1k
SHARES
पार्टी फुट्ने त्रासमा माधव नेपाल पार्टी अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ– केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सबैभन्दा बढी चिन्तित देखिएका छन् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। एमालेबाट विभाजन भएपछि पहिलोपटक प्रतिपक्षमा पुगेका नेपाल संसदीय अंकगणितमा कमजोर छन्। त्यही कमजोरीको फाइदा उठाउँदै कांग्रेस-एमाले गठबन्धनले पार्टीविरुद्ध षड्यन्त्र गर्न थालेको नेपालको अभिव्यक्तिले पार्टी विभाजन हुने अनुमानमा बल पुगेको छ।

साउन १० मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध अनेक षड्यन्त्र भइरहेको बताए। समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै नेपालले पार्टीविरुद्ध तानाबाना बुन्ने काम भइरहेको बताएका थिए।

‘हामीविरुद्ध षड्यन्त्र भइरहेका छन्। सशक्त भएर सामना गर्नुपर्छ,’ नेपालले भनेका थिए। उनले षड्यन्त्रका कुरा ‘सत्य भएको वा नभएको’ विषयमा आफू जानकार नभएको बताएका थिए। नेपालले भनेका थिए, ‘कति सत्य हो, कति असत्य हो? थाहा छैन, तर लेखेर पनि हुँदो रहेनछ। बोलेर हुँदो रहेनछ।’

नेपालको यो अभिव्यक्ति कुन विषयमा लक्षित छ भन्ने खुल्न नसकेको स्वयं पार्टी नेताहरू बताउँछन्। अधिकांशले चाहिँ पार्टी विभाजन हुने अनुमान गरेका छन्। नेपालको भनाइलाई लिएर राजनीतिक वृत्तमा दुई किसिमको अर्थ लगाइँदैछ। एकातिर, समाजवादी फुट्दैछ र अर्कातिर ठूला दलले थ्रेस होल्ड बढाएर साना दल सक्दैछन्। धेरैको अनुमान छ, समाजवादी फुट्दैछ।

कांग्रेस–एमाले समीकरण बनेपछि संविधान संशोधनको विषय उठेको छ। संशोधन भएमा साना दलको अस्तित्व समाप्त हुने सम्भावना छ। सत्तारुढ एमाले महासचिव शंकर पोखरेलले १० प्रतिशतसम्म थ्रेस होल्ड पुग्ने बताएका छन्। विद्यमान कानुनी व्यवस्थाअनुसार राष्ट्रिय दल बन्न तीन प्रतिशत थ्रेस होल्ड कटाउनुपर्छ।

नेपालको त्रास यसप्रति पनि हुने कतिपयको अनुमान छ। समाजवादीको बैठकको भाषण भएकाले नेपालको जोड पार्टीमै केन्द्रित हुने नेताहरूको बुझाइ छ। उनले आफ्नै पार्टीभित्र सरकारले खेल्न थालेको अभिव्यक्ति दिएको हुन सक्ने आकलन पनि अर्काथरीको छ। नेपालको भाषणमार्फत समाजवादी संकटमा पर्दै गएको कुरा स्पष्ट हुन्छ।

स्थापनादेखि सरकारमा रहेको समाजवादी अहिले प्रतिपक्षमा छ। मन्त्री बन्न ‘सदाबहार’ लबिइङ गर्ने नेताहरू अहिले मौन छन्। यसैले पनि समाजवादी फुट्दैछ भन्ने शंकामा बल पुगेको जानकारहरू बताउँछन्।

अध्यक्ष नेपाल प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सशंकित रहेको उनी निकट नेताहरूको बुझाइ छ। समाजवादीको १० औँ महाधिवेशनमा पनि नेताहरू असन्तुष्ट देखिएका थिए। कतिपय नेताहरू बाध्यताले महाधिवेशन स्थलमा बसे पनि कतिपयले महाधिवेशन बहिष्कार गरेका थिए।

सांसदसमेत रहेका पूर्वमन्त्री प्रेम आले महाधिवेशनमा उपस्थित भएनन्। उनी त्यसबेला भारत भ्रमणमा थिए। भ्रमणपछि नेपाल फर्केर पनि महाधिवेशनबारे चासै राखेनन्। उनले निकट नेतासँग आफू समाजवादीमा नरहने बताइरहेका छन्।

समाजवादी निकट स्रोतका अनुसार आले अहिले पार्टीको सम्पर्कमा छैनन्। आलेले पार्टी छाड्ने निर्णय लिइसकेका छन्। आलेले भने यसबारे केही बताएनन्। समाजवादीका अर्का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) श्रेष्ठ पनि असन्तुष्ट छन्। उनी महाधिवेशनमा सचिवका आकांक्षी थिए। समाजवादी नेताहरूका अनुसार श्रेष्ठ प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीका आकांक्षी थिए। अध्यक्ष नेपालले उनलाई मन्त्री बनाएनन्।

सोही कारण श्रेष्ठ नेपालसँग असन्तुष्ट रहेको नेपाल निकट स्रोत बताउँछन्। यसबाहेक अम्बरबहादुर थापा, शेरबहादुर कुँवरसमेत अध्यक्ष नेपालसँग असन्तुष्ट रहेको पार्टी स्रोत बताउँछ। ‘कोको फुट्छन् त मलाई थाहा भएन। तर धेरै नेता र सांसद अहिले नेतृत्वसँग असन्तुष्ट छन्,’ हिमालप्रेससँग एक नेताले भने, ‘यसमा एमालेको समेत सहयोग छ कि भन्ने लाग्छ।’

ती नेताका अनुसार समाजवादीका असन्तुष्ट सांसदहरू एमाले नेताहरूसँग सम्पर्कमा छन्। ‘ओली हाम्रो पार्टीप्रति असन्तुष्ट छन्। अध्यादेश ल्याएमा हामी विभाजनमा जान सक्छौँ’, ती नेताले भने।

अध्यादेशको भय, निसानामा समाजवादी

समाजवादीका रुष्ट नेताहरू अहिले वैकल्पिक मार्ग खोजिरहेको नेताहरू सुनाउँछन्। कतिपय नेताहरू एमाले अध्यक्ष ओलीसँग सम्पर्कमा रहेको स्रोतको दाबी छ। ओलीलाई पार्टी विभाजनका लागि सहजता ल्याउन छलफल गरिरहेको बताउँछन्।

यसले ओलीले पार्टी विभाजन गर्न अध्यादेश ल्याउँछन् कि भन्ने त्रास देखिन्छ। किनभने ओली पनि अहिले ठूलो पार्टी बनाउने गरी काम गरिरहेका छन्। कांग्रेसभन्दा भन्दा एक सिट ठूलो पार्टी बनाउन सके चुनावसम्म सरकार बनाउन सकिने ओलीको बुझाइ छ।

‘पार्टी ठूलो बनाउने त सबै मन हुन्छ। हुन्छ/हुँदैन भन्न सकिन्न,’ एमाले नेता भानुभक्त ढकाल भन्छन्। ढकालकै भनाइअनुसार पनि एमाले एकताको चाहना छ। यसैले पनि ओली समाजवादी विभाजनमा लागेका होइनन् भन्ने लागेको हो। समाजवादीको रुष्ट टिमलाई एमालेमा ल्याउन सक्दा एमाले ठूलो दल बन्ने सम्भावना हुन्छ।

ओलीले अशोक राई नेतृत्वको जसपासँग पनि एकताका लागि सघन छलफल बढाइरहेको एमाले स्रोत बताउँछ। समाजवादीको असन्तुष्ट समूह र जसपा मिसाउँदा एमाले ठूलो दल बन्न सक्छ।

‘एमाले सरकारमा छ। यतिबेला अध्यादेश ल्याए पारित हुन्छ। यसको असर हाम्रो पार्टीमा पर्छ’, समाजवादीका एक नेताले भने। यसअघि अध्यादेशबाटै एमाले विभाजन भएर समाजवादी बनेको हो।

समाजवादीबाट २० प्रतिशत सांसद पुर्‍याए विभाजन गर्न सकिने अध्यादेश ल्याएपछि नेपालले एमाले विभाजन गरेका थिए। अध्यादेशबाटै जन्मिएको समाजवादीलाई अहिले पनि अध्यादेशकै त्रास छ।

समाजवादीका नेता सोमप्रसाद पाण्डेय पार्टी विभाजन हुने कुरा निराधार रहेको बताउँछन्। उनले भने, ‘ओलीले अध्यादेश ल्याए पनि फुट्छ भन्ने लाग्दैन।’ उनले नेतृत्वले पार्टीका सबै सांसदहरूसँग छलफलमा रहेको बताए। पाण्डेयले भने, ‘हाम्रो पार्टी अहिले नै फुट्छ जस्तो लाग्दैन। हामी सबै सांसदसँग छलफलमै छौँ।’

जसपा विभाजन काटेको ‘खड्गो’

नेताहरूका अनुसार यसअघि प्रचण्ड सरकारकै पालामा समाजवादी फुटाउने प्रयत्न भएको नेताहरू सुनाउँछन्। प्रचण्ड-ओलीविरुद्ध ‘मोर्चाबन्दी’ बनाउने क्रममा उपेन्द्रको पार्टी विभाजित बनेको थियो। उपेन्द्र प्रचण्डले पार्टी विभाजन गर्न गरिदिएको आरोप लगाउँछन्।

नेताहरूका अनुसार जसपा त्यसबेला विभाजन नभएको भए समाजवादी फुट्ने सम्भावना थियो। जसपा फुटेपछि सरकारमा एमाले, माओवादी, रास्वपा र नयाँ जसपाले बहुमत जुटेको थियो।

प्रकाशित: १५ साउन २०८१ १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =