पूर्वराज्यमन्त्री राय हत्या प्रकरण : रगतको दाग बन्याे ‘क्लू’

हिमाल प्रेस १४ साउन २०८१ १९:०८
666
SHARES
पूर्वराज्यमन्त्री राय हत्या प्रकरण : रगतको दाग बन्याे ‘क्लू’

काठमाडौैं- पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा पक्राउ परेका शंकास्पद दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार पत्रकार सम्मेलन गरेर राय हत्यामा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सर्लाही कबिलासी नगरपालिका–३ का २५ वर्षीय रामउजैन राय र चन्द्रनगर नगरपालिका–१ रतनपुर बस्ने ४६ वर्षीय बीरेन्द्र राय रहेका छन्।

प्रहरीले पक्राउ गरेको रामउजैन पूर्वराज्यमन्त्री राज्यको घरमा काम गर्ने व्यक्ति हुन्।

पूर्वमन्त्री रायको हत्या भएलगत्तै प्रहरीले रामउजैनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। घटना भएको राति रायको घरमा सुतेका उनले नै पूर्वमन्त्री रायको हत्याबारे आफन्तलाई जानकारी गराएका थिए।

रामउजैन सुतेको तन्ना, गन्जी र हाफ पाइन्टमा रगतको दाग देखिएपछि उनी प्रहरीको शंकाको घेरमा परेका थिए।

‘अनुसन्धानका क्रममा घटनास्थलमा फेला परेको धारिलो हतियार फर्सा, रामउजैन सुतेको तन्नामा रगतजस्तो रातो पदार्थ लागेको, सेता गन्जी, हाफ पाइन्टसमेतको आधारमा घटनाको निष्कर्षसम्म पुग्यौं,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने।

रामउजैनले बीरेन्द्र रायले भनेपछि पूर्वमन्त्री रायको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको श्रेष्ठले जानकारी दिएका छन्।जग्गासम्बन्धी मतभिन्नताका कारण वीरेन्द्रले पूर्वराज्यमन्त्री रायको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

चन्द्रनगर–१ स्थित रायको पक्की घर भएको जग्गा आफ्नो रहेको र जग्गा ओगटेर घर बनाएको भन्दै रामउजैनलाई प्रयोग गरेर हत्या गर्न लगाएको प्रहरीले जनाएको छ।

बीरेन्द्रले दुई लाख रूपैयाँ र व्यवसायका लागि एउटा फर्मसमेत बनाइदिने प्रलोभन दिइ रामउजैनबाट पूर्वराज्यमन्त्री रायको हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए। बीरेन्द्रको उक्साहट र प्रलोभनमा परी आफू एक्लैले राय सुतेको मौकाछोपी हत्या गरेको रामउजैनले प्रहरीसमक्ष बयान दिएका छन्।

८० वर्षीय पूर्वभूमिसुधार राज्यमन्त्री रायको चन्द्रनगरस्थित आफ्नो निवासमा राति सुतिरहेको बेला साउन ७ गते हत्या भएको थियो।

प्रहरीले राति १ बजे राय मृत फेला परेको सूचना पाएको थियो। तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग भएको धारिलो घरेलु हतियार (फर्सा) बरामद गरी रायको घरमा काम गर्ने रामउजैनलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको थियो।

 

प्रकाशित: १४ साउन २०८१ १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =