सरकारले भन्यो : बिपिन जोशी सुरक्षित भएको जानकारी पाएका छौँ

हिमाल प्रेस १४ साउन २०८१ १६:५५
12
SHARES
सरकारले भन्यो : बिपिन जोशी सुरक्षित भएको जानकारी पाएका छौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेकाे भनिएका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्। जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन्।

बिपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले साेमबार परराष्ट्रमन्त्री डा. राणालाई उनको कार्यकक्षमा भेटेर बिपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए। उक्त भेटमा मन्त्री डा. राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन्।

इजरायलमा भएको आक्रमणपछि बिपिन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा. राणाले दिइन्।

मन्त्री डा राणाले भनिन्, ‘उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ। उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरू हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ। जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ। हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ। आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ।’

आफू परराष्ट्रमन्त्री भएदेखि बिपिनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरूलाई विपिको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उनले दिइन्।

यसअघि कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आएको बेला उनीसँग नेपाल सरकारले बिपिनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री डा. राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिइन्। इजरायलमा गत अक्टोबरमा हमास समूहद्धारा भएको आक्रमणपश्चात् उनीहरूकै नियन्त्रणमा रहेका भनिएका बिपिन हालसम्म सम्पर्कविहीन छन्। रासस

प्रकाशित: १४ साउन २०८१ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =