भूमिसुधारमन्त्रीको हातबाट लालपुर्जा पाएपछि …

विनोद परियार १४ साउन २०८१ १८:१७
62
SHARES
भूमिसुधारमन्त्रीको हातबाट लालपुर्जा पाएपछि … जग्गाधनी प्रमाणपुर्जा पाएपछि प्रसन्न मुद्रामा सियारी गाउँपालिकाका भूमिहीन। तस्बिर : हिमालप्रेस

लुम्बिनी– रूपन्देही सियारी गाउँपालिका-३ का भिखुप्रसाद थारूले तीन दशकको पखाईपछि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाए। लामो समयदेखि लालपुर्जाको आसमा बसेका थारूले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट लालपुर्जा ग्रहण गरेका हुन्। ‘धेरै वर्षपछि लालपुर्जा पाइयो, खुसी लागेको छ’, उनले भने।

नापी कार्यालय रूपन्देहीले आइतबार सियारी गाउँपालिकाभित्रका ५ सय ५३ घरपरिवारलाई गाउँ ब्लक जग्गाको लालपुर्जा उपलब्ध गराएको छ। वर्षाको पखाईपछि लालपुर्जा हातमा पाउँदा स्थानीय खुसी मात्रै थिएनन, वर्षाैँदेखिको सपना पूरा भएकोमा सरकारलाई धन्यवादसमेत दिए।

उमेरले ७० वर्ष काट्न लाग्दा मन्त्रीको हातबाट जग्गाधनी लालपुर्जा ग्रहण गरेर आफ्नो जग्गाको वास्तविक धनी भएकोमा दंग थिइन् सियारी गाउँपालिका २ की बखरनिया थारू। उनले लालपुर्जा देखाउँदै सरकारलाई आभार प्रकट गरिन्।

विगत ५० वर्षदेखि गाउँ ब्लकको जग्गाका रूपमा रहेका पालिकाका किसानले जग्गाको लालपुर्जा पाएका हुन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्षौँदेखि समस्याका रूपमा रहेको जग्गाधनी पुर्जालाई अब स्थायी रूपमा समाधान गर्ने गरी काम गरेको बताए। उनले लालपुर्जाका सम्बन्धमा सरकारले योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए।

नापी कार्यालय रूपन्देहीका प्रमुख सुग्रिन यादवले सियारीमा वडा नं. २ का ७ गाउँ ब्लकको २९३ वडा न. ३ का ४ गाउँ ब्लकका एक सय, वडा नं. ४ का ५ गाउँ ब्लकका १३६ र वडा ५ का ३ ब्लकका २४ पुर्जा गरी १९ ब्लकका ५५३ पुर्जा वितरण गरिएको बताए।

पुर्जा वितरण कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले निर्वाचनका समयमा किसानसमक्ष गरिएका प्रतिबद्धता क्रमशः पूरा गर्न सफल भएको बताए। उनले सियारीमा पहिलो चरणमा २५५ र अहिले ५५३ घरपरिवारलाई लालपुर्जा प्रदान गर्न पाउँदा खुसी लागेको बताए। अध्यक्ष घिमिरेले पालिकाभित्र रहेका सुकुम्बासी र अव्यवस्थित बासिन्दाको लगत तयार गरी पुर्जा बनाउन राजस्व बढी भएकाले प्रदान गर्न समस्या भएको बताए।

जग्गाधनी प्रमाणपत्र वितर कार्यक्रमा नापी विभागका महानिर्देशक प्रकाश जोशी, जिल्ला समन्वय समिति रूपन्देही संयोजक उमाकान्त चपाई, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा चौधरी उपस्थित थिए।

नापी कार्यालयका अनुसार रूपन्देहीमा १८३७ गाउँ ब्लक रहेको ९९६ ब्लकको ७३० हेक्टर जग्गा नापनक्सा कार्य गरिएको र ५९४ वटा गाउँ ब्लकको ६७५ हेक्टर जग्गाको पुर्जा वितरण कार्य सम्पन्न भइसकेको छ। ९९६ गाउँ ब्लकको फिल्ड चेक तथा भेरिफिकेसन गर्न बाँकी रहेको नापी कार्यालय भैरहवाका प्रमुख यादवले बताए।

रूपन्देहीमा २०२६ सालबाट एकसरो नापी सुरु गरी २०२८ सालमा सम्पन्न भएको थियो। बाक्लो बस्ती एवम् घर भएको स्थान र सानासाना कित्ताहरू भएको जग्गा घेरी एउटै कित्ता नम्बर दिई तयार फिल्डबुकमा गाउँब्लक जनाउने शब्द लेखी छोडिएको गाउँ ब्लकको नापनक्सालाई नापी कार्यालयले गाउँ ब्लक जग्गाधनी प्रमाणपत्रका रूपमा वितरण गर्दै आएको हो। नापी कार्यालयले २०६५ सालदेखि पुर्जा वितरण गर्ने कार्य निरन्तर रूपमा गरिरहेको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा नापी कार्यालय भैरहवाले गौडहवा गाउँपालिकाको वडा २ र ५ को ३४ ब्लकको २७ हेक्टर नापी कार्य सम्पन्न गरी सातदिने सूचना प्रकाशनको अन्तिम चरणमा रहेको जनाइएको छ।

त्यस्तै रोहिणी गापाको वडा नं. ३, ५ र ६ को ४५ ब्लक करिब ४४ हेक्टरको २१ दिने सूचना प्रकाशित गरी करिब ३५० पुर्जा तयार भइसकेको समेत यादवले बताए। तिलोत्तमा न.पा. वडा १६ को ४ गाउँ ब्लक र सिद्धार्थनगर नगरपालिका वडा नं. १.२ को ८ गाउँ ब्लकको २१ दिने सूचना प्रकाशन गरिसकेको छ।

प्रकाशित: १४ साउन २०८१ १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =