हाम्रो समाजले अशक्तलाई ‘तिमी प्रयास गर’ भन्नै सक्दैन : सीता सुवेदी [अन्तर्वार्ता]

सुस्मिता बजगाईं १४ साउन २०८१ ९:२३
278
SHARES
हाम्रो समाजले अशक्तलाई ‘तिमी प्रयास गर’ भन्नै सक्दैन : सीता सुवेदी [अन्तर्वार्ता]

चितवनकी सीता सुवेदीले गत वर्ष एमएस नेपाल इन्टरनेसनल २०२३ को उपाधि जितिन्। यसैको प्रतिनिधित्व गर्दै उनी ‘मिसेस इन्टरनेसनल २०२४’ मा सिंगापुर जाने तयारीमा छिन्। एउटा गोडाले नृत्य गरेर विश्वसामु चिनिएकी सीता गायनमा पनि सक्रिय छिन्। समाज र युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेकी सीतासँग उनको सफलता, संघर्ष र व्यक्तिगत जीवनबारे गरिएको वार्ता :

तपाईँ अचेल के गर्दै हुनुहुन्छ? तपाईँ सफलताको शिखरतर्फ लम्कनुका पछाडि कुन तत्त्वको भूमिका धेरै छ?

‘इन्टरनेसनल डिरेक्टर’ को स्वास्थ्यमा समस्या देखिएकाले सिंगापुरको कार्यक्रम पछि सरेको छ। आफ्नै स्वास्थ्यमा पनि समस्या आएपछि आराम गरिरहेकी छु। त्यसबाहेक ब्युटी प्रिजेन्टसँग सम्बन्धित काम र सिंगापुर जाने तयारीमा छु।

सबैभन्दा ठूलो कुरा म आफैँमाथिको आत्मविश्वास, मेहनत, धैर्य र अनुशासनको परिणाम हो। नृत्यको कर्ममा मैले भोगेको ‘रिजेक्सन’ लाई अमृतसरी पिएँ। चोट नखाको ढुंगा कसरी शिला अनि मूर्ति बन्न सक्छ र? मेहनतको फल पाएँ भन्ने लाग्छ।

एउटा गोडा नभएकै कारण पढ्न हुन्न, पढेर के गर्छेस्? तैँले किन नाच्नुपर्‍यो? भन्ने हाम्रो समाज। बाहिर ‘यू क्यान ट्राई’ भन्छन् तर हाम्रो समाजले तिमी प्रयास गर न भन्न सक्दैन।

सीता सुवेदी क्लासिकल नेपाल फाउन्डेसन दर्ता गरेकी छु। म फरक क्षमताकी एउटा प्रतिनिधि पनि भएकाले एमएस नेपाल इन्टरनेसनलका तर्फबाट विभिन्न घरेलु सामग्री वितरण गर्ने काममा लागेकी छु।

नेपाल जर्नी भन्ने संस्थामार्फत चितवनमा फरक क्षमता भएका व्यक्तिका लागि भनेर अन्तर्राष्ट्रिय स्तरको ई-लाइब्रेरी खुल्दैछ। म त्यसको सल्लाहकार हुँ। स्वास्थ्य अवस्था ठिक नभएकाले त्यति समय दिन पाइरहेकी छैन।

एमएस नेपाल इन्टरनेसनल प्रतियोगितासम्म पुग्ने हौसला त कसैबाट पाउनुभयो होला नि?

मिसेस नेपाल इन्टरनेसनलमा भाग लिन मलाई ‘यू क्यान डू इट’ भनेर मिसेस नेपाल इन्टरनेसनल २०२२ टाइटल जितेकी उषा रजतले गाइड गर्नुभएको हो। उहाँले भन्नुभएको थियो, ‘नेपालमा मात्र हो तिमीलाई गर्न सक्दिनन् भन्ने। तिमीले गरिरहेकी छ्यौ त? गर न।’ उहाँका यस्ता कुराले मलाई धेरै हौसला मिल्यो।

त्यसपछि मैले आवेदन दिएँ। सन् २०१८ देखि थुप्रै ब्युटी पेजेन्टमा भाग लिन प्रयास गरिरहेकी थिएँ तर सबैतिरबाट अस्वीकृत भएको जबाफ पाउँथे। भन्ने गर्थे, ‘तिमीसँग गोडा छैन, हिल लगाएर कसरी क्याटवाक गर्न सक्छ्यौ?’

सफलता पाउन संघर्षबिना सम्भव त छैन नै। त्यो विगत र भाग लिने अवसरलाई कसरी सम्झिनुहुन्छ?

सुन्दरी प्रतियोगितामा सर्वप्रथम ‘फिगरआउट’ गरिन्छ। शारीरिक असक्षमलाई अस्वीकार गरिन्छ। मलाई पनि सुरुमा त आयोजकले भाग लिन मिल्दैन भनिरहनुभएको थियो। छनोट भए पनि प्रशिक्षणपछि सेमिफइनलमा लाँदैनौँ भन्नुभएको थियो।

हामी सधैँ ५ प्रतिशतमा मात्र प्रतिस्पर्धा किन गर्ने? १०० प्रतिशतमा किन नखोज्ने? शतप्रतिशत खोज्न सक्छु भन्ने लाग्यो र शारीरिक अशक्त भए पनि सशक्तसँग भिड्न गएँ।
मैले सरसँग प्रश्न गरेँ, ‘पाँच प्रतिशतमै प्रतिस्पर्धा गर्ने हो भने हामीले कति पाउँछौँ त? म यतिमै खुम्चेर किन बस्ने? १०० प्रतिशतमा प्रतिस्पर्धा गर्न दिनुभएन भने मैले शतप्रतिशत कसरी खोज्ने त? प्रतिस्पर्धा गर्न दिनुहोस् न।’ काम गरियो भने पो हामीले शतप्रतिशत नै खोज्न सक्छौँ भन्ने लाग्यो।

‘सौन्दर्य प्रतियोगिता त सन् १९६९ देखि नै हुँदै आएको हो। सुन्दरताले मात्र नपुगेर इनर ब्युटी पनि चाहिएर इन्टेलेक्च्युयल ब्युटी खोज्न थालिएको हो नि त? त्यसका लागि अशक्त होइन इन्टेलेक्च्युयल खोज्नुहोस् न’ भनेँ।

निर्णायकहरूले प्रस्तुति हेरेर सेमिफइनलमा लैजाने-नलैजाने छलफल गरौँला भनिरहनुभएको थियो। मलाई सिक्नु थियो। सुन्दरी प्रतियोगिता सबै वर्गका लागि हुनुपर्छ भन्ने ध्येय थियो। यसबारे ज्ञानको दायरा फराकिलो बनाउनु थियो तर जित्छु भन्ने आस थिएन। जति दिन मलाई राख्नुहुन्छ इमानदार भएर सिक्छु भन्ने सोचले सक्रिय भएँ।

सौन्दर्य प्रतियोगितामा प्रश्नको जवाफमा के लेखिएको छ त्यो महत्त्वपूर्ण हुने रहेछ। आयोजकलाई मैले कहिल्यै पनि अपजस लगाइनँ। सिक्ने क्रममा आफूलाई मात्र भएर भाइबहिनीका लागि मेरो अनुभव बताउन सक्ने लक्ष्य लिएर गएकी थिएँ। मेरो ब्याचमा म सबैभन्दा पारदर्शी प्रतिस्पर्धी भएँ। प्रतियोगितामा कस्ता प्रश्न सोधिन्छ र कसरी उत्तर लेखिन्छ भनेर हेर्ने गर्थे। पछि स्टेज, सेमिफइनल, हुँदै टाइटल नै जितेँ। अनि आफैँ छक्क परेँ।

क्लासिक डान्समा पोख्त हुनुहुन्छ। यसैलाई रोज्नुको कारण? सानैदेखिको रुचि थियो कि?

मेरो सानैदेखि कलामा विशेष रुचि थियो। क्लासिकल डान्स आधारभूत रूपमा पढाइ हुन्छ। हाम्रै देशको लोकसंस्कृतिलाई विश्वविद्यालयमा पाठ्यक्रम बनाएर पढाएको भए म त्यही पढिरहेकी हुन्थेँ। जे सिकाइन्छ त्यतैतिर नै लगाव बढाउने त हो नि।

म नेपालीको विद्यार्थी भएको हिसाबले स्नातकोतर तहमा लोकसाहित्यको विषय समावेश छ। नृत्यसँग सम्बन्धित भएर पढ्छु भन्दा पर्याप्त किताब भेटिँदैन। यसबारे कसैले अनुसन्धान गरेका छैनन्।

सौन्दर्य प्रतियोगितातर्फ नै किन?

मान्छे आफैँमा सुन्दर छ। सबैको सुन्दरताको आआफ्ना पक्ष छन्। त्यो सुन्दरता मान्छेलाई बुझाउन जरुरी छ भन्ने लागेर म सौन्दर्य प्रतियोगितामा सहभागी भएकी हुँ। म नेपालमा मात्र नभएर मजस्ता अरू व्यक्तिका लागि अन्तर्राष्ट्रिय रूपमा आवाज पनि बन्न सक्छु भन्ने लाग्यो।

हामीजस्ता शारीरिक अशक्तलाई गर्न सक्दैन, नगर भनेर पढ्न, काम गर्न रोक लगाइन्छ। यसले दबाइएको महसुस हुन्छ। उनीहरूलाई आफूले जति गर्न सक्छ त्यहाँसम्म पुग्न दिनुपर्छ भन्ने छैन।

सुन्दरता भनेको के रहेछ?

सुन्दरता भनेको मान्छेको दृष्टिकोण हो। प्रतियोगितामा गएपछि ब्युटी पेजेन्टलाई हेर्ने नजर बदलियो। दाहिने साइडबाट हेर्दा म ‘सेक्सी’ देखिन सक्छु भने देब्रेबाट हेर्दा ओहो! सीताको एउटा गोडा रहेनछ भन्ने सोचिन्छ।

त्यसैले सुन्दरतालाई किन सीमित दायराभित्र राखियो? म पनि तपाईँहरुसँगै हुनुपर्छ भनेर नै अगाडि बढेकी हुँ। तपाईँ जुनसुकै काममा लाग्नुस् त्यहाँ मेहनती र लगनशील भएर लाग्नुभयो भने असम्भव केही हुन्न। तपाईँ काम सिक्न जाने क्रममा कत्रो भाँडो लिएर जानुहुन्छ भन्नेमा भर पर्छ।

सौन्दर्य प्रतियोगिता जितेपछि केकस्ता काम गर्नुपर्छ?

मान्छे परिवारसँग घुलमिल भए पनि व्यक्तिगत रूपमा सामाजिक बन्न जानेकै हुँदैन। सुन्दरी प्रतियोगिताको प्रमुख लक्ष्य जनसम्पर्क बढाउनु र अन्तरक्रिया गर्न सक्नु हो। जितेपछि एक वर्ष समाजमा घुलमिल हुनुपर्छ र प्रत्यक्ष रूपमा समाजबाहिर निस्केर योगदान दिनुपर्छ भनेर जिम्मेवारीबोध गराउन त्यो उपाधि दिइएको हो। त्यसमा समय छुट्याएर एम्बेस्डरका रूपमा सचेत गराउने कुरा हो। महिलालाई घरपरिवार र बाहिर सन्तुलन मिलाउन निकै गाह्रो हुन्छ। आफू सक्रिय हुन उपाधि जित्नुपर्छ भन्ने छैन। उपाधिले उसलाई मानिसले नोटिस गर्छ भन्ने लाग्छ।

गायनतर्फ पनि अग्रसर हुनुहुन्छ नि?

संगीत मेरोे रुचिभित्रै पर्छ। लगावचाहिँ कम छ। आफैँले आधा दर्जन गीत गाएँ होला। प्रेम, देशभक्ति, कलासंस्कृति झल्कने लोक तथा आधुनिक, रोइलाजस्ता गीत लेख्ने तथा गाउने गरेकी छु। मैले लेखेका र कम्पोज गरेका केही गीत सार्वजनिक भएका छन्।

नेपाललाई प्रतिनिधित्व गरेर विदेश जाँदा तपाईँको मौलिक कला संस्कृति खै त? भन्ने प्रश्न आयो। सोही कारण गायनमा पनि लोकसंस्कृति आउनुपर्छ भनेर लोकसंस्कृतिलाई प्राथमिकता दिन थालेकी छु।

श्रोता र दर्शकले पछिल्ला दिनमा कस्ता गीतसंगीत मन पराइरहेका छन्?

मौलिक हिसाबले हामीले सुन्नुपर्ने, बुझ्नुपर्ने र हाम्रो आवश्यकता के हो भन्ने गीत चलेका छैनन्। छाडा गीत र त्यहीअनुसार खिचिएका म्युजिक भिडियो भइरल भइरहेका छन्।
हाम्रो कलासंस्कृतिभन्दा अरूको नक्कल र बिगारेको चिजमा हामी रमाउन थालेका छौँ। यसले हामीलाई बिगारेको छ। महिलाको महान् चाड तीजकै कुरा गरौँ न। अहिले तीज गीतमा रक एन्ड रोल मिसिन थालिसकेको छ।

कलासंस्कृतिकै गीत गाउनेले पनि केही शब्द अपाच्य राख्न थालेका छन्। त्यस्ता गीतमा दर्शक त रमाउलान् तर भोलि आफैँले फर्केर हेर्दा कस्तो लाग्ला भन्ने लाग्छ।
बोरामा पनि एउटा दुइटा आलु कुहिएको हुन्छ नि। संगीतमा पनि केही मान्छे बिग्रिए भन्दैमा त्यो कलासंस्कृति नै हो भनेर गीतमा समावेश गर्न मिल्दैन।

यस्ता विकृत रोक्न के गर्न सकिएला?

विभिन्न संघसंस्था छन् तर उनीहरूले चलेका मान्छेलाई अंकुश लगाउन नसकेको हो कि? भन्ने देखिन्छ। संस्थाभित्र आफ्नो मान्छे भएर त्यसको संरक्षण गरेका हुन् कि? किनभने कसैले हाँसेर प्रत्यक्ष दोहोरी गाउँदा उहाँलाई कारबाही हुन्छ, कोही प्रतिष्ठानभित्रैकाले गाउँदा प्रश्नसमेत उठ्दैनन् भने त्यो विभेद भयो। संस्कृति जोगाउने ठेक्का लिएर बसेपछि केही बोल्न र सुझाव दिन सक्नुपर्ने होइन् र? म आफैँ पनि संस्थामा भएकाले यस विषयमा छलफल चलिरहेको छ।

जीवनमा गीतसंगीत र नृत्य कतिको आवश्यक ठान्नुहुन्छ?

मेरो हिसाबमा भन्नुपर्दा संगीत मेरो औषधि हो। गीतसंगीतको साधना नगरी म सकुशल रहन सक्दिनँ। नृत्य मेरो प्राण हो। नृत्यबिना म बाँच्न सक्दिनँ। परिवार र संगीत छान्नुपर्दा म सजिलै संगीतलाई रोज्छु।

नृत्य र संगीतबाट जीवन चलाउन कतिको सहज लाग्छ?

तपाईँ आफ्नो पेसाप्रति कति इमानदार हुनुहुन्छ भन्ने कुराले अर्थ राख्छ। आफ्नो क्षेत्रका लागि कति घण्टा छुट्टयाउनुभयो त्यसैको परिणाम हामीले पाउने हो। तपाईँले चारैतिर खाल्डो खन्नुभयो भने पानी कुनैमा आउँदैन। एउटामात्र खनिरहनुपर्छ, त्यहाँ पानी पनि आउँछ र मूल पनि फुट्छ। कला पनि यस्तै हो। दुई छाक टार्नकै लागि मर्नुपर्छ भन्ने हुन्न भन्ने लाग्छ। मेहनत गर्न छोडिएन भने एउटा गन्तव्यमा पुर्‍याउँछ।

मोडल, गायिका र नृत्यांगनाका उपनाम पाइरहँदा विगत कसरी सम्झिनुहुन्छ?

समाजले त मलाई पहिले सीताले केही गर्न सक्दिनँ भनेर कठै बिचराको नजरले हेर्थे तर त्यही बिचरा मान्छे अहिले आफूले गरेर मेरो परिवार पाल्न सक्छु र आफ्नो गुजारका लागि कसैसँग माग्नुपरेको छैन।

शारीरिक रूपमा सक्षम मान्छेले किन गर्न सक्दैन? उहाँहरूलाई त काममा रिजेक्ट हुनुपर्दैन नि। जागिर खान गएको ठाउँमा मेरो अवस्थाकै कारण दिनभरिको तलब दिएर पठाउनुभएको अनुभव पनि छ। मलाई अरूले विश्वास गरेनन् तर आफूले आफूलाई विश्वास गरेँ। त्यसैकारण पनि यो बाटोमा आइपुगेझैँ लाग्छ।

प्रतियोगितामा जाँदा ६ इन्चको हिलमा बैसाखी टेकेर क्याटवाक गर्न सक्दिनस् भन्थे तर प्रयास गरिरहँदा हरेक काम सम्भव हुने रहेछ। दुइटै गोडा नभएका हरि बुढा मगरले सगरमाथा चढ्नुभयो। काम गर्ने इच्छाशक्ति र चाहना हुनुपर्‍यो। मेहनत गर्ने आफैँले हो।

एउटा गोडा छैन भनेर मैले चढाएको प्रसाद भगवानले ग्रहण गर्नुहुन्न र? मनले सोच्थेँ। म अलि जिद्दी मान्छे। नकारात्मकभन्दा सकारात्मक कुरालाई प्राथमिकता दिनुपर्छ। शारीरिक अवस्था यस्तो भए पनि एसएलसी सकेपछि आफैँ काम गरेर जीविकोपार्जन गरेको मान्छे हुँ।

मैले १० वर्ष जागिर खाएँ। कला क्षेत्रमा सक्रिय भएको १२ वर्ष भयो। बिना मेहनत अरूले चिन्न सक्दैन र आफ्नो अस्तित्व पनि अरूलाई थाहा हुँदैन। चाल्स डार्बिनको सिद्धान्त छ नि हरेक जीवको अस्तित्व हुन उसले संघर्ष गर्नुपर्छ। मेरो अस्तित्वका लागि मैले संघर्ष नगरे कसले गर्ने? आफ्नो अस्तित्वका लागि संघर्ष गर्ने ठाउँ कहाँ हो भनेर आफूले तय गर्नुपर्छ। असम्भव केही छैन।

तपाईँको व्यक्तिगत जीवनबारे केही बताइदिनुहोस् न। जन्मस्थान, बाल्यकाल पारिवारिक अवस्था, विवाह?

म २०४२ साल साउन १८ गते चितवनमा जन्मिएकी हुँ। चितवनको जानकी उच्च माध्यमिक विद्यालयबाट एसएलसी पास गरेँ। भरतपुरको वीरेन्द्र क्याम्पसबाट आईए पास गरेँ। त्यसपछि काठमाडौँको पद्मकन्या कलेजमा संगीत र नृत्यमा स्नातक सकेँ। ललितपुरको पाटन क्याम्पसबाट नेपाली र ललितकला केन्द्रीय विभागबाट फेरि संगीतमा स्नातकोत्तर तह पूरा गरेँ। संगीतको थेसिसको काम बाँकी छ।

मलाई नृत्यमा स्नातकोत्तर तह पढ्न दिइएन। दुईपटकसम्म अस्वीकृत भएँ। फाराम भरेँ। अन्तर्वार्तामा बोलाए। कोटा नपुग्दासम्म बोलाउने, पुगेपछि ‘मिल्दैन, त्रिविले दिँदैन, पाठ्यक्रमभित्र एक खुट्टाले नाच्न मिल्दैन’ भन्दै फिर्ता पठाउँथे। मैले स्वाध्ययन गरेर भए पनि सिक्न सक्छु भन्न हिम्मत लिएँ। अब पढाइतिर लगाव भयो भने नृत्यमै पीएचडी गर्ने सोच छ।

शारीरिक अशक्त जन्मजात नै हो कि?

त्यतिबेला म १२ वर्षकी थिएँ। बढ्दो उमेरमा शरीरमा ट्युमर पलाउँदो रहेछ। बोनम्यारो क्यान्सरका कारण २०५७ साल कात्तिक २७ गते मेरो गोडाको शल्यक्रिया गर्नुपर्‍यो। त्यसपछि बैसाखीको सहायताले जीवन चलिरहेको छ। गोडा नभए पनि आमाले बोकेर विद्यालय पुर्‍याइदिनुहुन्थ्यो। काम गर्न सक्ने त थिइनँ तर घर बस्न दिनुहुन्न थियो। त्यो हौसलाले पनि एसएलसीपछि बाआमाको बोझ बन्न हुन्न भनेर कोठा लिएँ। काम गर्दै, पढ्दै गर्न थालेँ। त्यतिखेर कपडा सिलाउने र डिजाइनको काम गर्थेँ।

अहिले घरमा आमा, बुवा, भाइ, बुहारी, मेरी छोरी र म गरी ६ जनाको परिवार छौँ। म सिंगल मदर हुँ। सानैदेखि कला संगीततर्फ रुचि थियो। परिवारबाट पनि हौसला पाएँ। बुवाआमाले मेरो छोरी हुर्काइदिनुभयो। विशेषत: भाइ (नीलकण्ठ सुवेदी) ले ब्याचलर, मास्टर पढ्न र डान्सका लागि धेरै सहयोग गरेको छ। जहाँ लगानी गर्न चाहन्थेँ, त्यहाँ एकोहोरो भएर लाग्न पाएँ। यसरी सफलता हासिल गर्न सकेकी हुँ भन्ने लाग्छ।

युवा विदेश पलायन भइरहेका छन्। नेपालमै बसेर समाजका लागि प्रेरणाको स्रोत बनिरहनुभएको छ। युवा पुस्तालाई तपाईँको सन्देश?

युवा अवस्थामा हामीले चाहेजस्तै आम्दानी खोज्छौँ। हामी पूर्वीयहरु भोलिका लागि पनि राख्नुपर्छ भनेर मस्तिष्कमा बसाएका हुन्छाैँ। हामी आफैँ देशमा केही छैन भनेर देशलाई नै दोष लगाइरहन्छौँ तर देशमै हुँदा कति घण्टा मेहनत गर्छौँ त? अर्काको देशमा पैसा पाइन्छ हुन्छ भनेर १८ घण्टा खटिन पनि तयार छौँ। इमानदार भएर देशमै १२ घण्टा पनि खटेका छौँ त?

साँच्चिकै काममा लगाव बढाउनुभयो भने विदेशमा भन्दा नेपालमा बढी आम्दानी हुन्छ। बाहिर जानेहरू त्यहाँ बसुन्जेल सिकेका कुरा फर्केर देशलाई योगदान गर्छु भन्ने मनसाय बनाएर जानुहोला। संसारको जुनसुकै ठाउँमा पुगे पनि हामी कहाँबाट उत्पत्ति भएका हौँ र हाम्रो अस्तित्व के हो भन्ने कुरा कहिल्यै बिर्सनुहुन्न। यो आफ्नो संस्कृति, पहिचान र आधारशिला निर्माणका लागि आवश्यक कुरा हो।

यसका लागि हामी इमानदार बन्नुपर्छ तर अहिले इमान सकिँदै गएको देख्छु। यहाँ केही छ भनेर विश्वास नगरेकै कारण धेरै युवा बाहिर गइरहेका हुन्। सबैभन्दा पहिले अरुलाई दोष लगाउनुअघि आफूले कति मेहनत गरिरहेको छु भन्ने आत्ममूल्यांकन गर्नुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast